गएको बर्षको सुपरहिट चलचित्र ‘प्रेमगीत’ मा समाबेश ‘म यस्तो गीत गाउँछु’ बोलको गीत खुबै चर्चामा रह्यो । यो गीतले बजार पिट्न थालेपछि निर्माणपक्षलाई प्रचारमा पनि खासै दुख गर्नु परेन । सोही गीतले यस बर्ष नेपालमा आयोजित अधिकांश अवार्डहरु प्राप्त गरिरहेको छ । गीतले मात्र होइन चलचित्रलाई पनि दर्शकहरुले निकै रुचाए । तीन चलचित्र एकसाथ प्रदर्शनमा आउँदा पनि जसरी प्रेमगीतले चर्चा र सफलता पायो त्यसबाट निर्माणपक्ष निकै उत्साहित भएको थियो । चलचित्र प्रदर्शन भइसकेपछि निर्माता सन्तोष सेनले ‘प्रेमगीत २’ निर्माण गर्ने घोषणा गरेका थिए । सोही घोषणा अनुरुप केही दिन अगाडीदेखी चलचित्र ‘प्रेमगीत २’ को छायाँकन अहिले पोखरामा धमाधम भइरहेको छ । यही क्रममा निर्माणपक्षले चलचित्रको एक टाइटल गीत रेकर्ड गराएको छ । हालैमा गायक रोहितजोन क्षेत्री र श्रेया सोताङले ‘प्रेमगीत २’ को शीर्ष गीत गाएका छन् । कल्याण सिंहको संगीतमा रहेको गीत मेल र फिमेल दुई भर्सन छुट्टाछुट्टै तयार हुँदैछ। गीतमा अमृत मरहठ्ठाले शब्द दिएका छन्। क्षेत्रीका लागि प्रेमगीत २ पहिलो पार्श्वगायन हो। रक गीतका पारखीले रुचाएका यी गायक १९७४ एडी ब्यान्डका भोकलिस्ट हुन्। हिट फिल्मको सिक्वेलको टाइटल गीतमार्फत डेब्यु गर्न पाउँदा आफू उत्साहित भएको उनी बताउँछन्। निर्माता सन्तोष सेनले गीत रेकर्डिङको काम सकिएको जानकारी दिदै भने,‘गीत संगीत काम सकियो। अब हामी बाँकी छायांकनमा फोकस हुन्छौं।’
अन्तरदेशीय प्रेमकथा बुनिएको चलचित्र प्रेमगीत २ को काठमाडौं, पोखरा, लुम्बिनी र सुर्खेत छायांकन सकिएको छ। रामशरण पाठक निर्देशित फिल्ममा प्रदीप खड्का र अश्लेषा ठकुरीको मुख्य भूमिका छ।