भारतको जिटिभीले आयोजना गरेको डान्स इण्डिया डान्स (डिआइडी)लिटिल मास्टर्स-२०१४ मा एकलाख बढी प्रतिस्पर्धीलाई पछि पार्दै उपाधि जितेकी नेपाल रुपन्देहीकी चर्चित डान्सर तेरिया मगर फेरी अर्को भारतीय टेलिभिजन च्यानल कर्लसबाट प्रशारण हुँदै आएको ‘झलक दिखला जा’ सिजन ९ को फाइनलमा पुगेकी छिन् । उनलाई ‘झलक दिखला जा’ सिजन ९ को उपाधि जिताउनका लागि भोटिङ अभियान हिजो शनिबारबाट सुरु भएको छ । तेरिया फाउन्डेसनका अध्यक्ष एवं तेरियाका पिता कृष्ण फौजा मगरका अनुसार, तेरियालाई देश र विदेशमा रहेका सम्पूर्ण नेपालीहरुले भोट गर्न सक्नेछन् । उपाधिको नतिजाका लागि आगामी २१ तारिखसम्म एसएमएस र अनलाइन भोटिङ खुल्ला रहनेछ ।
यदी तेरियाले यो प्रतियोगीता जितेको खण्डमा नगद भारु. ३० लाख तथा रेनाल्ट डस्टर ब्राण्डको कार प्राप्त गर्नेछिन् । तेरियाले आफ्नो आधिकारीक फेसबुकमा आफ्नो नृत्य मन पराउनेलाई भोट गर्न आग्रह गरेकी छिन् । डीआईडीमा ४० हजार प्रतिस्पर्धीलाई पछाडि पारेकी उनी अहिले ‘झलक दिखला जा’ को फाइनल राउन्डमा पुगेकी हुन् । तेरियाले फाइनलमा डिआइडी सिजन १ एवं ‘झलक दिखला जा’ कै पूर्वविजेता सलमान युसुफ खान तथा वल्र्ड हिपहप च्याम्पियनसिपिका विजेता सानतनु महेश्वरीसँग उपाधिका लागि प्रतिष्पर्धा गर्नेुपर्नेछ । उपाधिका दाबेदार सलमान युसुफ खानले आफ्नो प्रतिस्पर्धी तेरिया मात्र रहेको र आफूलाई उनकै मात्र डर लाग्ने पनि बताइसकेका छन् । तेरिया ‘डिआईडी लिटिल मास्टर्स २०१४’ की विजेता भएकाले ‘झलक दिखला जा’ मा प्रवेश पाएकी हुन् । यो प्रतियोगितामा करण जोहर, फराह खान, ज्याकलिन फर्नान्डिज र गणेश हेज निर्णायक छन् । तेरियाका डान्स कोरियोग्राफर ऋषिकेश हुन् भने डान्स पार्टनर आर्यन हुन् ।
यसरी गर्न सकिन्छ तेरियालाई भोट
तेरियालाई भोट गर्न चाहनेहरुले मोवाइलको म्यासेज बक्समा गएर TER टाइप गरि ५६८८२ मा पठाउन सकिन्छ । यो इण्डियामा रहनेहरुले मात्र गर्न सक्नेछन् । इण्डियाभन्दा बाहिर रहेकाहरुले तेरियालाई भोट गर्नका लागि कलर्स च्यानलको अफिसियल वेवसाइट http://www.colorstv.com/mena/jhalak-dikhhla-jaa/voting/मा गएर भोट गर्न सक्नेछन् ।