चलचित्रकर्मी मनोज केसी संयोजक रहेर वि.सं २०५३ सालबाट वि.सं २०५८ सालसम्म ‘कलिउड सिनेमा अवार्ड’ आयोजना भएको थियो । त्यसपछि मनोज केसी प्राविधिक संघको अध्यक्ष भएपछि उनले ३ पटक नेफ्टा अवार्ड विदेशी भूमीमा आयोजना गरे । प्राविधिक संघबाट बाहिरिएपछि यसै बर्ष मात्र केसीले दुवईमा पहिलो पटक ‘नेपाली म्यूजिक भिडियो अवार्ड’ सम्पन्न गरे । अब मनोज केसीले २०५८ बाट वितरण गर्न रोकिएको ‘कलिउड सिनेमा अवार्ड’ पुनः वितरण गर्ने भएका छन् ।
केसीले आफ्नो कम्पनी ‘संगिक्षा फिल्मस्’ को तर्फबाट लण्डनमा ‘सातौ कलिउड सिनेमा अवार्ड’ आयोजना हुन लागेको शनिबार पत्रकार सम्मेलनको आयोजना गर्दै जानकारी दिएका छन् ।
संगिक्षा फिल्मस्को आयोजना र लण्डनको थर्ड आइको सहकार्यमा यो अवार्ड आयोजना हुन लागेको हो । कार्यक्रममा बोल्दै संगिक्षा फिल्मस्का प्रमुख मनोज केसीले नेपाली चलचित्रको विकास र विस्तारका लागि अवार्ड गर्न लागेको बताए । नेफ्टामा आफू आएपछि ‘कलिउड सिनेमा अवार्ड’को श्रृङ्खलालाई रोकेर ‘नेफ्टा अवार्ड’ आयोजना गरेको बताउँदै मनोजले अब रोकिएको अवार्डलाई निरन्तरता दिने बताए ।उनले यसलाई नेफ्टासँगको फुटको रुपमा नवुझ्न पनि सबैसँग आग्रह गरे । यस्तै, लण्डनको ‘थर्ड आइ’ का सदस्यमध्येका एक अजय राइले अवार्डलाई भव्य बनाउन आफूहरुले कुनै कसर बा“की नराख्ने बताए । उनले, अवार्ड स्क्यान्डल मुक्त होस् भन्ने कामना पनि गरे । नेपाल आयोजकस“ग उनले आग्रह गरे–‘यो अवार्ड भैसकेपछि लण्डनमा नेपाली चलचित्रको वृद्धि र विकास अझ होस् भन्ने हामी चाहन्छौ । कुनै, जाती, धर्म र राजनीतिलाई बोकेर लण्डन नआउन म आयोजक र चलचित्रकर्मीलाई आग्रह गर्दछु ।’
यस्तै, लण्डनबाट आएका संसरा मनी ट्रान्सफरका संचालक राजाराम गिरीले भने–‘बरु अवार्डका लागि समय लिनुहोस् । तर, नेपाली चलचित्रलाई मजबुत बनाएर लण्डनमा अवार्ड गर्दा राम्रो हुन्छ ।’
करिब १५ विधामा अवार्ड वितरण गर्ने तयारी गरेको मनोजले जानकारी दिएका छन् । ‘मे’ महिनामा अवार्ड गर्ने तयारी नेपाल र लण्डन पक्षका आयोजकले गरेका छन् । पत्रकार सम्मेलनमा चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारी, निर्माता केशव भट्टराई, नायक निखिल उप्रेती, सेन्सर बोर्ड सदस्य सन्दिप सापकोटा लगायतले अवार्ड सफलताको शुभकामना दिएका थिए ।