करिब एक साता लामो टुरबाट फिल्म ‘शत्रु गते’का कलाकार फर्किएका छन् । फिल्मको राजधानी बाहिरको कन्सर्ट भव्य रुपमा सम्पन्न भएको कलाकार र निर्माताले बताएका छन् । चैत्र ९ गतेबाट रिलिज हुने यो फिल्मलाई लिएर यसका कलाकार उत्साहित छन् ।
‘मह शत्रु गते यात्रा’ नाममा सुरु भएको टुर फागूण ३० गते इटहरी पुगेर सम्पन्न भएको हो । यो टुरमा फिल्मका निर्माता तथा कलाकार हरिवंश आचार्य , प्रस्तुतकर्ता किरण केसी , अभिनेत्री दीपाश्री निरौला , शिवहरि पौडेल , पल शाह र आँचल शर्मा सहभागी थिए ।
फागुन २३ गते हेटौडाबाट सुरु भएको टुर २४ गते नारायणगढ , २५ गते बुटवल , २६ गते पोखरा , २८ गते बिर्तामोड , २९ गते दमक हुदै ३० गते इटहरी पुगेर सकिएको छ । यी सबै स्थानमा पत्रकार सम्मेलन पनि आयोजना गरिएको थियो । यस्तै, टुरमा दर्शकको बाक्लो सहभागीता देखेपछि कलाकार, निर्माता दंग देखिएका थिए ।
कलाकार तथा निर्माता हरिवंश आचार्यले यस्तो टुरमा लामो समयपछि आफू सहभागी भएको बताए । प्रदिप भट्टराई निर्देशित फिल्म अहिले चर्चामा छ । फिल्ममा समावेश ‘रुपै मोहनी’ बोलको गीत पनि चर्चामा छ ।