चर्चित निर्देशक तुलसी घिमिरेले १६ बर्ष अगाडी निर्देशन गरेको सफल चलचित्र ‘दर्पण छायाँ’ को सिक्वेलको रिलिज डेट, टीजर र फस्र्टलुक पोष्टर सार्वजनिक गरिएको छ । १६ बर्ष अगाडी दीलिप रायमाझी, उत्तम प्रधान, निरुता सिंहलाई लिएर दर्पण छायाँ निर्माण गरेका तुलसी घिमिरेले यसको सिक्वेलमा भने सबै नयाँ कलाकारहरु लिएका छन् । मंगलबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै निर्माण पक्षले चलचित्र ‘दर्पण छायाँ २’ फागुन २७ मा रिलिज हुने जानकारी दिएको छ । टीजर, पोष्टर र शिर्ष गीत सार्वजनिक कार्यक्रममा चलचित्रका मुख्य कलाकार पुष्प खड्का मात्र उपस्थित थिए । चलचित्रका २ नायिका साहारा कार्की र श्रद्धा प्रसाई भने उपस्थित थिएनन् । चलचित्रमा फिरोज तिमिल्सिना, सुमन घिमिरे, जीवन आचार्य, तुफान घले, सरिना पौडेल, रोनी केसी लगायतका कलाकारको पनि अभिनय छ । चलचित्रलाई सनु कार्की र रवी कार्कीले निर्माण गरेका हुन् ।
कार्यक्रममा बोल्दै चलचित्रका निर्देशक तुलसी घिमिरेले ‘दर्पण छायाँ २’ नयाँ शैलीको चलचित्र भएको बताए । उनले भने -‘म पुरानो निर्देशन भएपनि चलचित्र ‘दर्पण छायाँ २’ नयाँ पुस्तालाई मन पर्ने कथावस्तुमा निर्माण गरेको छु । नेपालमा पनि भीएफएक्सको राम्रो टिम तयार भएको छ । यो चलचित्रमा पनि त्यसको केहि हिस्सा देख्न पाइन्छ ।’
उनले अगाडी थप्दै भने -‘दर्पण छायाँ २ ‘दर्पण छायाँ’ को सिक्वेल होइन् । ‘दर्पण छायाँ’ र ‘दर्पण छायाँ २’ को कथा विल्कुलै फरक छ । हामीले ‘दर्पण छायाँ २’ नयाँ कलाकार, नयाँ प्रविधि र नयाँ कथा लिएर तयार पारेका छौ ।’ तुलसी घिमिरेको लेखन र निर्देशन रहको चलचित्रका प्रस्तुतकर्ता डाक्टर लोपसाङ लामा हुन् ।