‘नसिव आफ्नो’ चलचित्रबाट नेपाली रजतपटमा भित्रिँदा नायक जीवन लुइँटेलको चर्चा नेपाली सिनेवृतमा खुबै थियो । यतिसम्मकी एकलौटी बजार खाँदै आएका नायक आर्यन सिग्देल समेत जीवनको इन्ट्रीले धर्मराएका थिए । तर, अहिले जीवनका चलचित्रहरुले बजार पिट्न छोडेको पनि झण्डै २ बढी भइसकेको छ । चलचित्र ‘नाइँ नभन्नू ल’ बाहेक जीवनका ब्लकबष्टर चलचित्र छैनन् भन्दा गलत नहोला । लगातार कमजोर भूमिकामा देखिनुले पनि जीवनलाई सफलताको ह्याट्रिक मार्न गाह्रो भइरहेको छ । यसको पछाडी नयाँ अनुहारहरु भित्रिँदा पनि जीवनलाई आफ्नो स्थान जोगाउनै अहिले हम्मेहम्मे परिरहेको देख्न सकिन्छ । आफ्नो क्रेज विस्तारै गम्दै गएपछि उनले अमेरिकाको बाटो रोजेको बहससम्म चल्यो नेपाली सिनेवृतमा । अहिले सपरिवार अमेरिकामा रहँदै आएका जीवन केही दिन अगाडी मात्र एक महिना लामो अमेरिका बसाईपछि नेपाल फर्किएका छन्, आफु अभिनित चलचित्र ‘लेक साइड’ को प्रचारका लागि । सोमबार सिनेखबर डटकमसँगको एक भेटको क्रममा नायक जीवन लुइँटेलले आफ्ना चलचित्रहरु कम चल्न थालेको स्वीकार गर । उनले भने, ‘हो मेरा चलचित्रहरु अहिले कम चल्न थालेका छन् तर म सेलाएको छैन । एक समय लभ स्टोरी चलचित्रमा आर्यन र जीवन मात्र सुहाउँछ भन्ने छाप नेपाली बजारमा थियो तर अहिले दर्शकहरुको टेष्टमा पनि फरक आइसकेको छ । अहिले नयाँ प्रतिभावान कलाकारहरु भित्रिरहनु भएको छ । आज मेरा सिनेमा चलेनन् भनेर म फल्प भए भन्ने लाग्दैन । आजको हिट भोली कहाँ हुन्छ, आज अलि कति सेलाएको भोली कहाँ हुन्छ त्यो थाहा नै हुँदैन । मैले मेरो सिनेमा लाइनको ग्राफ कोरिसकेको छु र मेरो निशाना कहाँ हो त्यो चाँडै सबैलाई थाहा हुनेछ ।’
यस बर्ष जीवन अभिनित चलचित्र ‘राधा’ र ‘सुब्बा साब’ प्रदर्शनमा आइसकेका छन् भने माघ २८ गते लेक साइड नामक चलचित्र प्रदर्शनमा आउँदैछ ।