स्वर्गीय श्रीकृष्ण श्रेष्ठकी धर्मपत्नी तथा नायिका स्वेता खड्काले शुक्रबार राजधानीमा एक कार्यक्रमका बीच ‘स्वेता श्री’ फाउन्डेशनको औपचारिक घोषणा गरेकी छिन् । श्रीमान श्रीकृष्ण र आफ्नो नामबाट राखिएको ‘स्वेता श्री’ फाउन्डेशनको पूननिर्माण प्राधिकरणका प्रमुख गोविन्द पोखरेल, महजोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य, पूर्व प्रधान सेनापति रुक्मांगत कटुवाल, माइती नेपालकी प्रमुख अनुराधा कोइराला, संगीतकार शम्भुजित बास्कोटाले एकसाथ उद्घाटन गरेका हुन् । नायिका स्वेताले ‘स्वेता श्री’ फाउन्डेशन सामाजिक कार्यको लागि औपचारिक सुरुवात गरिएको बताइन । उनले भनिन्, ‘मैले यो फाउन्डेशन दाई (श्रीकृष्ण श्रेष्ठ) जन्मिनु भएको गाउँ सिन्धुपाल्चोकमा महाभूकम्पले पुराएको असरले गर्दा अस्थाई रुपमा बस्दै आइरहेको माझी बस्तीहरुमा म अवलोकनका लागि गएको थिएँ । त्यहाँ जाँदादेखी दाई प्रतिको माया र सम्मानले निकै भावुक भएको थिएँ । तर, उहाँहरु घापानी सहेर बसेको देख्दा मेरो मन थामिएन । मेरो व्यक्तिगत पहलबाट तपाईको गाउँ बन्छ भने म त्यसका लागि तयार छु भनेर उहाँहरुलाई विश्वास दिलाएको थिएँ । त्यसपछि मैले विभिन्न संघ-संस्था देखी सरकारका विभिन्न व्यक्तिहरुसँग सल्लाह गर्दा व्यक्तिगत सहयोग भन्दा संस्थागत सहयोग गर्दा राम्रो हुन्छ भन्नु भयो र मैले यो फाउन्डेशनको औपचारिक सुरुवात गरेकी हुँ ।’ ‘स्वेता श्री’ फाउन्डेशनले यो बस्ती निर्माणको व्यवस्थापनमा सहयोग गर्नेछ । कार्यक्रममा अतिथीहरुले स्वेताको उक्त कदमको खुलेर प्रशंसा गरेका थिए ।