यस बर्षको प्रतिक्षित चलचित्र मध्येको एक ‘दर्पण छायाँ २’ गएको शुक्रबारबाट नेपाली हलमा प्रदर्शन भइरहेको छ । नेपालका झण्डै ७० बढी हलहरुबाट एकसाथ प्रदर्शन आरम्भ गरेको चलचित्र ‘दर्पण छायाँ २’ ले प्रदर्शनको तीन दिनमा औषत व्यापार गरेको छ । शुक्रबार खराब मौसम, शनिबार नेपाल बन्द र आइतबार सार्वजनिक विदा भएपनि यो चलचित्रले तीन दिनमा ६० लाख ग्रस आम्दानी गरेको वितरक रोहित रत्नले जानकारी दिए । उनका अनुसार, खराब मौसम र नेपाल बन्दको असर चलचित्रको व्यापारमा देखिएको छ । दर्शकहरुबाट मिश्रिम प्रतिक्रिया बटुलिरहेको चलचित्र ‘दर्पण छायाँ २’ सन् २००१ मा रिलिज भएको ‘दर्पण छायाँ’ को सिक्वेल हो । तुलसी घिमिरेको कथा, पटकथा, संवाद र निर्देशन रहेको यो चलचित्रमा पुष्पल खड्का, साहारा कार्की र श्रद्धा प्रसाईको मुख्य भूमिका रहेको छ । यसको पहिलो भागमा भने दीलिप रायमाझी, उत्तम प्रधान र निरुता सिंह मुख्य भूमिकामा थिए ।