आफ्नो अभिनयलाई जीवन्त बनाउन नायक सौगात मल्ल हर संभव प्रयास गर्छन र त्यो प्रयास अहिलेसम्म उनको बेकार भने गएको छैन । प्रत्येक चलचित्रमा फरक गेटअप र फरक भूमिकामा देखिने सौगातको गएको महिना अर्थात फागुन १३ गते चलचित्र ‘लुट २’ प्रदर्शनमा आएको थियो । यो चलचित्रले अहिले पनि नेपाली बजारमा राम्रै धुम मच्चाइरहेको छ । अब उनै सौगातको मुख्य भूमिका रहेको नयाँ चलचित्र ‘लप्पन छप्पन’ यही चैत ११ गतेबाट हलमा लाग्ने तयारीमा छ । निर्माणपक्षले दिएको जानकारी अनुसार, यो चलचित्रमा सौगातले फरक भूमिकामा काम गरेका छन् ।
नायक सौगात मल्लले चलचित्र ‘लप्पन छप्पन’ मा नक्कली दाँत र बङ्गुरको मुखौटा लगाएका छन् । जुन चलचित्रको सार्वजनिक ट्रेलरमा पनि देख्न सकिन्छ । तपाईहरुलाई बताइदिउँ कि सौगातले ‘लप्पन छप्पन’ मा लगाएको नक्कली दाँतको मूल्य नेपाली ४० हजार पर्न आउँछ । ‘दुःख गर्न रमाइलो लाग्छ’ सौगातले भन्छन्, ‘गाह्रो काम गर्न र पसिना निकाल्न मलाई रमाईलो लाग्छ ।’ मुखौटा लगाएर अभिनय गर्दा कस्तो भयो त ? भन्ने पत्रकारको प्रश्नमा सौगात थप्छन्, ‘अलि-अलि निसास्सिएको जस्तो हुने । गाह्रो त पक्कै हुने नै भयो तर पनि मुखौटा लगाएर काम गर्दा छुट्टै रमाईलो पनि भयो ।’ उनका अनुसार, चलचित्रमा सबै कलाकारहरु पैसाको मात्र पछाडी दौडिएका छन् । मुकुन्द भट्ट निर्देशित चलचित्र ‘लप्पन छप्पन’ मा सौगात सहित दयाहाङ राई, अर्पण थापा, बर्षा सिवाकोटी, देवु श्रेष्ठ, प्रकाशजंग शाह, सिड खरेल लगायतको अभिनय रहेको छ ।
प्रकाशजंग शाह र प्रवेश पौडेलको संयुक्त कथा तथा लेखन रहेको चलचित्रमा सुरेन्द्र पौडेलको सम्पादन र पुरुषोत्तम प्रधानको छायाँकन रहेको छ । डम्वर चन्दको निर्माण रहेको चलचित्रमा सहदेव गौतम कार्यकारी निर्माताको रुपमा रहेका छन् । यो चलचित्र युरोप र नेपालमा छायाँकन गरिएको हो ।