बलीउड फिल्म इन्डष्ट्रीका चर्चित अभिनेता विनोद खन्ना अहिले विरामी छन् र उनको मुम्बईको एक अस्पतालमा उपचार भइरहेको छ । दुई दिन अगाडी उनको परिवारबाट एक बयान आएको थियो, ‘विनोद खन्नाको स्वास्थ्यमा पहिला भन्दा धेरै सुधार आइसकेको छ र चाँडै अस्पतालबाट डिस्चार्ज हुनहुनेछ ।’ विनोद खन्नाका छोरा राहुल खन्नाले जारी गरेको स्टेटमेन्टमा भनिएको छ, ‘उहाँलाई डिहाइड्रेशनको समस्याका कारण शुक्रवार अस्पताल भर्ना गरिएको थियो । अहिले उहाँको स्वास्थ्यमा धेरै नै सुधार आइसकेको छ र डाक्टर चाँडै उहाँलाई डिस्चार्ज गर्ने तयारीमा छन् । हाम्रो परिवार हस्पिटलको असाधारण रेखदेख प्रति आभारी छौं ।’ अस्पतालमा विनोद खन्नाको साथमा उनकी पत्नी कविता पनि छिन्, जो उनको ख्याल राखिरहेकी छन् ।
परिवारका अलवा हस्पिटलले पनि यी अभिनेताको स्वास्थ्य अवस्थाको बारेमा एक विज्ञप्ती जारी गरेको छ । विज्ञप्तीमा लेखिएको छ, ‘विनोद खन्नाको एच. एन रिलायन्स फाउण्डेशन हस्पिटलमा शुक्रवार डिहाइड्रेशनपछि एडमिट गरिएको थियो । डाक्टर उहाँको ध्यान राखिरहेको छ र उहाँको स्वास्थ्य अवस्थामा अहिले स्थिर छ ।’
विनोद खन्नाको एक तश्वीर अहिले सोसल मिडियामा खुबै भाइरल भइरहेको छ, जुन तश्वीरमा उनी निकै विरामी देख्न सकिन्छ ।