काठमाडौं । चलचित्र पत्रकार संघ नेपालले स्थापना दिवसको अबसरमा प्रदान गर्दै आएको सम्मान तथा पुरस्कारको क्रमलाई यस बर्षपनि निरन्तरता दिँदै जेठ ७ मा परेको १८ औं स्थापना दिवसको अबसरमा सम्मानित हुने तथा पुरस्कृत हुनेहरुको नाम सार्वजनिक गरेको छ ।
यस बर्ष चलचित्र पत्रकारिता सम्मानबाट वरिष्ट पत्रकार डा. नवराज लम्साललाई सम्मानित गरिने भएको छ । लम्सालले चलचित्र तथा कला पत्रकारितामा दशक लामो समयदेखि पुर्याउँदै आएको योगदान तथा चलचित्र पत्रकारिताको नाम उँचो बनाउन पुर्याएको योगदानको कदर गर्दै सम्मान गर्न लागिएको संघका अध्यक्ष सन्दिप सापकोटाले बताए ।
बिबिसी नेपाली सेवा तथा रेडियो नेपालमा रहेर कला पत्रकारिता गर्दै आएका डा. लम्साल साहित्यकार र गीतकार पनि हुन् । उनले हालै मात्र ‘धरा’ नामको महाकाव्य समेत प्रकाशित गरेका छन् । चलचित्र तथा कला पत्रकारितासँगै नेपाली मुलधारको पत्रकारितामा लम्सालको नाम विशिष्ट श्रेणीमा आउँछ । उनि अहिले रेडियो नेपालका कार्यक्रम महासाखा प्रमुख छन् ।
यस्तै यो बर्षको चलचित्र पत्रकारिता पुरस्कार सगरमाथा टेलिभिजनमा कार्यरत पत्रकार पारस पौडेल र अनलाईनखबर डटकममा कार्यरत पत्रकार विजय सुवेदी ‘आवाज’लाई प्रदान गरिने भएको छ । पौडेलले मोफसलको स्याङ्जा र पोखरा हुँदै पछिल्लो समय राजधानीलाई कार्यक्षेत्र बनाएर पत्रकारिता गर्दै आएका छन् भने चलचित्र क्षेत्रको अनलाईन पत्रकारितामा सुवेदीको नाम पनि शिर्ष स्थानमा आउँछ ।
यस्तै चलचित्र पत्रकारिता प्रोत्साहन पुरस्कार पहिलोपोष्ट डटकममा कार्यरत पत्रकार स्वेच्छा राउतलाई प्रदान गरिने भएको छ । पछिल्लो समय चलचित्र पत्रकारितामा आकर्षण बढ्दो हुँदा उदाएकी श्वेच्छा मिठास शब्द सहित तर्कपुर्ण विश्वेषण गर्न माहिर छिन् । समाचार लेखनमा उनको क्षमता उत्तिकै राम्रो छ ।
शुक्रबार संघको कार्यालयमा बसेको कार्यसमिति बैठकले उल्लेखित निर्णय गरेको हो । २०५६ साल जेठ ७ गते जिल्ला प्रशासन कार्यालय काठमाडौंमा विधिवत दर्ता भई स्थापना भएको चलचित्र पत्रकार संघले १८ औं वसन्तमा पार गर्दै गर्दा गत फागुनबाट नयाँ कार्यसमिति पाएको थियो ।
सम्मानित हुँदै गरेका लम्साललाई स्थापना दिवसको दिन राजधानीमा आयोजना हुने एक औपचारिक कार्यक्रमका बीच सम्मान गरिनेछ ।
सापकोटा नेतृत्वको कार्यसमितिले नै पहिलो पटक केन्द्रमा चलचित्र पत्रकारिता प्रोत्साहन पुरस्कार प्रदान गर्ने परिपाटीको यसैबर्षबाट थालनी गरेको हो । यो पुरस्कार पाउँदै गरेकी पत्रकार राउतले ‘ल्यापट’सँगै ट्रफी र ताम्रपत्र पाउनेछिन् भने पुरस्कृत पौडेल र सुवेदीलाई २१ हजार नगद सहित ट्रफी तथा ताम्रपत्र प्रदान गरिनेछ । यसअघि पुरस्कृत पत्रकारलाई १५ हजार पाँच सय पचपन्न रुपैयाँ प्रदान गरिँदै आईएकोमा यो पटकदेखी त्यसमा वृद्धी गर्दै २१ पुर्याईएको छ ।