मुम्बई(एजेन्सी) । अहिले पनि बलिउडमा ‘बाहुबली’को ह्याङओभर राम्ररी उत्रिसकेको छैन । बलिउडमा प्रभासले राज गरिरहँदा चीनमा चाहिँ आमिर खानले आफ्नो पकड दर्हो बनाएका छन् । आमिर अभिनित फिल्म ‘दंगल’ले चीनमा सबैभन्दा बढी कमाई गर्ने भारतीय फिल्मको सूचीमा नाम दर्ता गराए पछि आमिर प्रति चिनियाँ दर्शकको क्रेज ह्वात्तै बढेको छ । फिल्मकै प्रमोसनका लागि आमिर कैयौं पटक चीन पुगिसकेका छन् नै, चिनियाँ दर्शकबाट राम्रो प्रतिक्रिया पनि उनले पाइरहेका छन् ।
चीनमा आमिरको क्रेज यति धेरै बढेको छ कि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई पनि चीनमा फ्यान फलोइङमा उछिनेका छन् । मोदीलाई जितेर अग्रस्थानमा रहेका आमिरको क्रेज देखेर चिनियाँ आफै चकित छन् । चीनको सामाजिक सञ्जाल वीबोमा आमिर प्रधानमन्त्री मोदी भन्दा कैयौं स्थान माथि छन् । यो सञ्जालमा आमिरको फलोअर्स संख्या ६ लाख ७५ हजार ८ सय ४१ छन् भने मोदीको फलोअर्स संख्या १ लाख ६८ हजार ८ सय ४८ छन् ।
सञ्चारमाध्यमका अनुसार दुवैको वीबो एकाउन्ट भेरिफाइड छ । आमिरको वीबो एकाउण्ट निकै सक्रिय छ भने मोदीले जनवरीमा मात्र आफ्ना पोष्ट गरेका छन् । वीबोमा कुनै पनि भारतीय नागरिकको सबैभन्दा बढी फलोअर्स संख्या केवल आमिरको मात्र छ ।
चीनको सामाजिक सञ्जालमा पनि ‘दंगल’को चर्चा निकै बढी छ । मानिसहरु ‘#LetsWrestleDad’ (फिल्मको चिनियाँ नाम) नामको ह्यासट्यागमा कमेन्ट गरिरहेका छन् । केही वर्ष जब आमिर अभिनित फिल्म ‘थ्री इडियट्स’ चीनमा प्रदर्शन भयो, यसको लोकप्रियताले चीनमा सबै चकित बनेका थिए । चिनियाँ सुपरस्टार ज्याकी च्यानले पनि ‘थ्री इडियट्स’को खुलेर तारिफ गरेका थिए ।