वितरक तथा हल सञ्चालकहरुको छाता संगठन चलचित्र संघले गर्दै आएको तर केहि बर्ष रोकिएको अवार्ड समारोहलाई यो बर्षदेखि पुनः निरन्तरता दिने भएको छ । विगत केही बर्षदेखि आयोजना हुदै आएको ‘नेपाल मोसन पिक्चर एसोसियसन अवार्ड’ विविध कारणले गर्दा रोकिएको थियो ।
काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच अध्यक्ष प्रदिपकुमार उदयले यो बर्ष ‘नेम्पा फिल्म अवार्ड २०१७’ आयोजना हुने घोषणा गरे । अवार्ड समारोह भने अबको दुई बर्ष निरन्तर रुपमा नेपालमा नभई अमेरिका र अष्ट्रेलियामा हुनेछ । १८ विधामा अवार्ड र एक विधामा ‘लाइफ टाइम एचिभमेन्ट अवार्ड’ प्रदान गरिनेछ ।
सन् २०१७ को सेप्टेम्बरमा अमेरिकाकामा अवार्ड समारोह आयोजना हुनेछ । उक्त कार्यक्रममा नेपालबाट ४० जना फिल्मकर्मीले सहभागीता जनाउने बताईएको छ भने अमेरिकामा बसोबास गर्दै आएका कलाकर्मी तथा नेपालीहरुले पनि सहभागिता जनाउनेछन् । यस्तै सन् २०१८ को संस्करण भने अष्ट्रेलियामा आयोजना हुने बताईएको छ ।