मुम्बई(एजेन्सी) । बलिउड स्टार आमिर ख़ानको फिल्म ‘दंगल’ले एउटा अर्को नयाँ रेकर्ड कायम गरेको छ । यो फिल्मले विश्वव्यापी रुपमा २ हजार करोडको व्यापार गर्दै यति धेरै पैसा कमाउने पहिलो भारतीय फिल्मको रेकर्ड बनाएको हो । फिल्मले चीनमा भएको फिल्मको उत्कृष्ट कलेक्सनलाई आधार मान्दै यति धेरै रकमको व्यापार गरेको हो ।
चीनमा आमिरको फिल्मलाई लिएर दर्शकमा दमदार क्रेज देखिएको छ । चीनमा रिलिज हुनासाथ यो फिल्म हेर्नका लागि दर्शकको घुँइचो नै लागेको थियो । व्यापार विश्लेषकका अनुसार फिल्मले रिलिजको ५३ औं दिनमा २ दशमलब ५ करोडको कलेक्सन गरेको थियो । यही कलेक्सनलाई जोड्दै फिल्मले २ हजार करोड आम्दानी गरेको हो । विश्वभरी यति धेरै सफलता पाउने आमिरको फिल्म पाँचौं गैह« अंग्रेजी फिल्म बनेको छ । यो फिल्म सन् २०१७ मा सर्वाधिक कमाउने स्पोर्टस् फिल्म पनि बनेको छ ।
आमिरको ‘दंगल’ले चीनमा हलिउडका ठूला फिल्मलाई पनि पछाडि पारेको छ । फिल्मले हलिउड फिल्महरु ‘क्याप्टेन अमेरिका–सिविल वार’, ‘एक्सएक्सएक्सः रिटर्न अफ जेन्डर केज’, ‘ट्रान्सफर्मर्स( डार्क अफ द मून’, ‘टाइटेनिक थ्रीडी’ र ‘जंगल बुक’ जस्ता फिल्मलाई उछिनेको छ । यो फिल्मको अगाडि अब दुई हलिउड फिल्म ‘अवतार’ र ‘जुरासिक वर्ल्ड’ मात्र छन् ।
गत वर्षको क्रिसमसको मौकामा रिलिज भएको फिल्म ‘दंगल’ले भारतीय बक्स अफिसमा करिब ३ सय ८७ करोड नेट कमाई गरेको थियो । नितेश तिवारी निर्देशित फिल्ममा आमिर कुश्ती कोच महावीर फोगाटको भूमिकामा देखिएका थिए ।