मुम्बई(एजेन्सी) । बलिउड स्टार सलमान खान अभिनित फिल्म ‘ट्युबलाइट’ गत शुक्रबार रिलिज भयो । सामान्यतया सलमानको फिल्मले साता दिन बित्नु अघि नै सय करोड क्लबमा प्रवेश गर्ने भए पनि पाँच दिन बित्दा पनि फिल्म सय करोडमा प्रवेश गरेको छैन । फिल्मका कलाकारदेखि प्राविधिकसम्मले फिल्मको प्रमोशन गरिरहँदा फिल्मकी प्रमुख नायिका झु झु भने यो फिल्मलाई हेला गर्न थालेकी छन् । झु झु चिनियाँ नायिका हुन् ।
भारतीय सञ्चारमाध्यमका अनुसार चीनको सांघाईमा हालै भएको सांघाई फिल्म फेस्टिबलमा झू झू उपस्थित भए पनि ‘ट्युबलाइट’को प्रमोशनमा उनी देखिइनन् । उनको सामाजिक सञ्जालमा उनले सलमानको फिल्मको पोष्टर पनि राखेकी छैनन् । सन् १९६२ मा भएको चीन र भारतबीचको युद्धको कथा भएकै कारणले चिनियाँ सरकारले कबिर खान निर्देशित फिल्मबाट टाढै रहन झू झूलाई निर्देशन दिएको भारतीय सञ्चारमाध्यमले दाबी गरेका छन् ।
‘उनलाई सरकारले ‘टयुबलाइट’बाट टाढै रहन भनिएको छ । मिडियाले उनीसँग भेटेर कुरा गर्ने भने पनि उनी व्यस्त भएको जानकारी दिँदै भेट गर्न पनि दिएको छैन, चाइन फिल्म ग्रुप कर्पोरेशनले पनि कबिर खानको फिल्मलाई चासो नदिनु भन्ने ह्वीपा जारी गरेकाले पनि चिनियाँले सलमान प्रति कम चासो देखाएका छन् ।’ भारतीय सञ्चारमाध्यमले समाचारमा उल्लेख गरेका छ्न ।