काठमाडौं । निर्देशक राजबहादुर सानेको फिल्म ‘वृन्दावन’मा बद्ला लिने एक्सन चरित्रमा देखिएकी अभिनेत्री शिल्पा पोखरेल सानेले नै निर्देशन गर्ने नयाँ फिल्म ‘वीरांगना’मा पनि त्यस्तै चरित्रमा देखिने भएकी छन् । नयाँ फिल्ममा सशस्त्र प्रहरीको भूमिकामा अभिनय गर्न लागेकी शिल्पाले कोसँग कसको बदला लिनेछिन् भन्ने कुरा निर्माण पक्षले केही खुलाएको छैन ।
नयाँ फिल्मको राजधानीमा मुर्हुत गरियो । फोर्थ आई मुभिजले निर्माण गर्न लागेको फिल्मले नेपालको सिमा क्षेत्रमा हुने अवैधानिक गतिविधि तथा अपराधिक क्रियाकलापलाई नियन्त्रण गर्न र त्यसको शान्ति सरक्षाको प्रत्याभूति गर्न गराउन नेपाली नारीले देखाउने वीरताको विषयलाई देखाइने निर्देशक सानेले बताए ।
शिल्पाको अलवा फिल्ममा अनुपविक्रम शाही, पृथ्वीराज प्रसाई, धिरेन शाक्य, सुनिलदत्त पाण्डे, शुशिल पोखरेल, प्रिया रिजाल, सपना श्रेष्ठ, मार्टिन वली, किशोर झालगायतको मूख्य भुमिका रहनेछ । नायिका शिल्पाले फिल्म ‘हवल्दार सुन्तली’ पछि ‘वीरांगना’मा प्रहरीको भूमिकामा अभिनय गर्न पाउँदा खुशी लागेको बताइन् । फिल्म ‘हवल्दार सुन्तली’मा शिल्पा नेपाल प्रहरीको हवल्दारको भूमिकामा थिइन् ।
फिल्ममा बाबुराम दास, श्यामबहादुर थापा, रघु परियारको लगानी रहनेछ भने देव तामाङ र सुमी चाम्लिङ राईले लगानीमा सहकार्य गरेका छन् । निर्देशक सानेकै लेखन रहेको फिल्ममा हरि घले लामाको छायांकन, दिपक शर्मा र पुरुषोत्तम न्यौपानेको संगीत, श्री श्रेष्ठको एक्शन, कविराज गहतराजको कोरियोग्राफी रहनेछ । असार २३ गतेबाट सुटिङ शुरु हुने फिल्ममा किशोर झा कार्यकारी निर्माता छन् ।
मुहुर्त कार्यक्रममा बोल्दै प्रमुख अतिथी नेकपा माओवादी केन्द्रका नेता टोपबहादुर रायमाझीले नेपालीहरुको वीरता आफुले नजिकबाट नियालेको भन्दै ‘वीरांगना’ साँच्चिकै राम्रो फिल्म बनोस् भन्दै शुभकामाना दिए । रायमाझीले नेपालको सिमा क्षेत्रमा नेपाली नारीहरुले प्रस्तुत गरेको वीरताको ख्याल गर्न फिल्म टिमलाई सुझाए ।