काठमाडौं । अभिनेत्री शिल्पा पोखरेलको शीर्ष भूमिका रहेको फिल्म ‘हामी शरणार्थी’ आगामी भदौ ८ गतेबाट अल नेपाल रिलिज हुने भएको छ । दुई सन्तानकी आमा बनेकी शिल्पाले फिल्ममा भुटानबाट लखेटिएर नेपाल आई शरण लिएर बसेका शरणार्थीहरुको प्रतिनिधित्व गरेकी छिन् ।
केरुङ् फिल्मस्को व्यानरमा निर्माण गरिएको फिल्म तीज चाडलाई लक्षित गर्दै प्रदर्शनमा आउन लागेको हो । फिल्मका निर्देशक विजय लिम्बु केरुङले फिल्मले भुटानी शरणार्थीले पाएको दुःख र कष्टलाई प्रस्तुत गरेको बताए ।
फिल्ममा अभिनेत्री शिल्पा पोखरेलले दुई सन्तानकी आमाको भूमिकामा अभिनय गरेकी छिन् । उनीसँगै जिवन भट्टराई, प्रतिमा रसाईली, नयन घिमिरे, विक्रम श्रेष्ठ, प्रमिला उप्रेती, बालदीप राई र दिलीप योङहाङलगायतको अभिनय छ ।
अर्जुनकुमार पोखरेल, प्रकाश भण्डारी र प्रकाश शिवाकोटीले संयुक्त रुपमा निर्माण गरेको फिल्ममा कृष्णप्रसाद पोखरेल कार्यकारी निर्माता छन् । फिल्ममा हिमाल केसीको द्वन्द, उत्तमजंग लिम्बुको संगीत, कमल राईको नृत्य, बैजु सिंहको पटकथा र संवाद तथा सौरभ लामाको छायांकन छ । फिल्मको वितरक आरआर फिल्मस् हो ।