काठमाडौं । फिल्म प्रचारका लागि निर्माता, निर्देशकले आफ्नै किमिसको शैली अपनाउने गरेका छन् । कुनै समय रिक्सामा बसेर माइकबाट फिल्म रिलिज हुन लागेको जानकारी दिने पुस्ता भन्दा अहिलेको पुस्ता फिल्म प्रचारमा अलिक फरक देखिएका छन् । आगामी हप्ता प्रदर्शनमा आउन लागेको फिल्म ‘म यस्तो गीत गाउँछु’ले चाहिँ चितवनमा फिल्म प्रचारमा हात्तीको प्रयोग गरेको छ । चितवनको सौराहाबाट २ घण्टा बढी हिँडेर आएको युनाईटेडकली नामको हात्तीमा बसेर कलाकारहरु नारायणगढ बजार घुमे । हात्तीमाथि सयर थिए कलाकारहरु सरोज खनाल, पुजा शर्मा र पल शाह । उनीहरुलाई अर्का कलाकार सोभित बस्नेतले साथ दिईरहेका थिए ।
नारायणगढ बजारमा हात्तीमा चढेर उनीहरुले दर्शकलाई हात हल्लाउँदै फिल्म हेर्न आग्रह गरेका थिए । नारायणगढको पुल्चोक पुग्ने बित्तिकै दर्के पानी परेपनि परबाह नै नगरी प्रचार अभियानलाई तिब्रता दिए । ‘चितवनको चर्को गर्मीमा पानीले झन् मजा बनायो’, कलाकार सरोज खनालले अनुभव सुनाए ।
नरायणगढको पुल्चोबाट शुरु भएको यात्रा शहिदचोक, लायन्स चोक हुँदै पुन पुल्चोकमा आएर टुंगिएको थियो । उनीहरुको अघिपछि झुम्मिएका दर्शकले हात्तीमाथि कलाकार देख्दा खुबै मनोरञ्जन लिए । कसैले सेल्फी खिचे भने कसैले हात हल्लाएर अभिवादन गरे । घरको तीनतला माथि हुनेहरुले पल, पल भन्दै हुटिंङ्ग गरेका थिए ।
म्युजिक भिडियोमा खेलेर युवा पुस्ताको मनमा बस्न सफल भएकाले पललाई भेट्न किशोर किशोरीको बढी भिड थियो । दर्शकको दवाव आएपछि उनीहरुले हात्तीमाथि बसेर सबैलाई असार ३० बाट प्रदर्शनमा आउन लागेक चलचित्र ‘म यस्तो गीत गाउँछु’ हेरिदिन आग्रह समेत गरे । अहिले प्रचारप्रचारको क्रममा देश दौडाहामा लागेको चलचित्रको टोली पुर्वी नेपालबाट आज चितवन हुँदै पश्चिम लागेको छ । शनिवार बुटवलमा कार्यक्रम छ ।
चलचित्र प्रेमगीतको शिर्ष गीतलाई सापट लिएर सुदर्शन थापाले निर्देशन गरेको उक्त चलचित्र स्वयं थापा र नायिका पुजा शर्माले निर्माण गरेका हुन् । उक्त फिल्ममा सरोज खनाल सहित रुपा,राना, मोहन निरौला,राजाराम पौडेल, शिशिर रानाको अभिनय छ । मुख्य अभिनय भने पुजा र पलको छ । ‘मुख्यगरी यो चलचित्र लभ स्टोरी नै हो, अनी मिक्स मसला छ,’ नायिका तथा निर्मात्री पुजाले आज चितवनमा पत्रकारमाझ भनिन् । अर्का कलाकार सरोज खनालले राम्रो चलचित्र बनेकाले दर्शकले सजिलैसँग समयको सदुपयोग गर्न सक्ने बताए । सवा करोड लगानी निर्माण भएको उक्त चलचित्रमा ३ वटा गीत समावेश छ ।
काठमाडौ पोखरा तथा माथिल्लो मुस्ताङमा छायाँकन गरिएको चलचित्रलाई दर्शकसँग नजिक बनाउन फरक शैलीमा हात्ती सफारी गरिएको कलाकार सोभित बस्नेतले बताए ।