मुम्बई(एजेन्सी) । विगतका केही महिनादेखि भारतीय चर्चित कमेडियन शो ‘दी कपिल शर्मा शो’ विभिन्न कारणले समाचारको विषय बनिरहेको छ । कहिले कलाकारले शो छोड्ने त कहिले तिनै कलाकार फेरी आउने कारणबाहेक भारती सिंहको आगमनले पनि समाचारको विषय बनिरहेको कपिलको शो अहिले उनकै कारणले पुनः चर्चामा आएको छ ।
भारतीय सञ्चारमाध्यमका अनुसार शुक्रबार बेलुका कपिल आफ्नै शोको सुटिङमा बेहोस भएका छन् । केही महिनादेखिको मानसिक तनाव र शारीरिक थकानले ग्रस्त कपिल त्यही कारणले शो चलाइरहँदा बेहोस् बनेका हुन् ।
शोमा फिल्म ‘जब हेरी मेट सेजल’का प्रमुख कलाकार शाहरुख खान र निर्देशक इम्तियाज अलीलाई अतिथिको रुपमा स्वागत गर्न तयार रहेका कपिल उनीहरु आउनु अघि नै बेहोस् भएका थिए । उनी स्टेजमै बेहोस् भएपछि उनलाई तुरुन्तै अस्पतालमा भर्ना गरिएको थियो । चिकित्सकका अनुसार कपिलको शरीरमा उच्च रक्तचाप र कम चिनीको मात्र देखिएको छ । उनी चिकित्सकको सल्लाह अनुसार यतिबेला अस्पतालमा स्वास्थ्य लाभ गरिरहेका छन् ।