बेइजिङ(एजेन्सी) । चीनको बेइजिङ सांस्कृतिक व्युरोले क्यानेडियन पपस्टार जस्टिन बीबरको कन्सर्टमा रोक लगाएको छ । मनोरञ्जनको नाममा गलत काम गर्ने संगीतकर्मीलाई कार्यक्रम गर्न अनुमति नरहेको भन्दै बीबरलाई रोक लगाइएको हो ।
‘जस्टिन बीबर एक शानदार गायक हुन् । तर उनी विवादित पनि छन् । त्यसकारणले उनलाई हामी बेइजिङमा कन्सर्ट गर्न दिने छैनौं ।’ ब्युरोले जारी गरेको विज्ञप्तिमा भनिएको छ । चीनको सांस्कृतिक मन्त्रालयको आधिकारिक वेभसाइटमा एक प्रयोगकर्ताले चीनमा बीबरको कार्यक्रम हुन्छ या हुँदैन भनी सोधेको प्रश्नमा ब्युरोले यस्तो जवाफ दिएको हो ।
‘हामीलाई आशा छ कि जसै जसै जस्टिन बीबर समझदार हुन्छन्, उनी आफ्नो शब्द र कामलाई सुधार गर्छन् र जनताको प्यारो बन्छन् । त्यसपछि मात्र उनलाई कार्यक्रम गर्न दिनेछौं ।’ विज्ञप्तिमा उल्लेख गरिएको छ ।
आगामी सेप्टेम्बरबाट एसियाली टुरमा निस्कन लागेका बीबरको यात्रा सूचीमा चीनको कुनै पनि शहर नदेखिएपछि उनलाई रोक लगाइएको खुलेको हो ।जस्टिनलाई २०१३ मा चीनमा कार्यक्रम गर्नका लागि अनुमति मिलेको थियो ।
जस्टिन एशियाली मुलुकमा विवादित भएको यो पहिलो घटना भने होइन् । सन् २०१४ मा उनले सामाजिक सञ्जालमा राखेको एक तस्वीरले पनि उनी विवादमा तानिएका थिए ।
बीबरले टोकियोमा यसुकुनी श्राइन देखेपछि त्यहाँको एक तस्वीर सामाजिक सञ्जालमा राखेका थिए । श्राइन युद्धको लडाकु र दोषी युद्ध अपराधीलाई श्रद्धाञ्जली दिनका लागि बनाइएको ठाउँ हो । उनको यो तस्वीर सार्वजनिक भएप्छि चीन र दक्षिण कोरियाले जापानले आफ्नो पुरानो समयमा गरेको अपराध प्रति माफी नमाग्ने हर्कतमा रहेको भन्दै टिप्पणी गरेका थिए ।
तस्वीर विवादमा आए पछि जस्टिनले तस्वीर हटाएर माफी मागेका थिए । तर यो घटनाले चीन दुःखी बनेको थियो । एसियाली टुरमा जस्टिन जापान, हङकङ, फिलिपिन्स, सिंगापुर र इण्डोनेशियामा पुग्नेछन् ।