झरना थापाको डेब्यु निर्देशनमा तयार भएको वर्षकै प्रतिक्षित फिल्म ‘ए मेरो हजुर २’को ट्रेलरले युट्युबमा रेकर्ड कायम गरेको छ। यो ट्रेलर नेपाली फिल्म इतिहासमा २४ घण्टा नबित्दै सर्वाधिक भ्युज पाउने ट्रेलर बनेको हो।
यसअघि २४ घण्टा भित्र सर्वाधिक भ्युजको रेकर्ड ‘लुट २’ले राखेको थियो। त्यतिबेला ‘लुट २’ले २४ घन्टामा ३ लाख ३९ हजार भ्युज प्राप्त गरेको थियो। अब भने युट्युबमा २४ घण्टा भित्र सर्वाधिक भ्युज पाउने फिल्म ए मेरो हजुर २ बनेको छ। शुक्रबार बेलुका ८ बजे युट्युबमा अपलोड गरिएको ट्रेलरलाई यो समाचार तयार पार्दासम्म ५ लाख ३९ हजार भन्दा बढी पटक हेरिएको छ।
ट्रेलर अहिले युट्युब ट्रेन्डीङको दोस्रो नम्बरमा छ। अघिल्ला रिलिज दुई गीतबाटै हाइप बनाएको ‘ए मेरो हजुर २’को ट्रेलरले पनि राम्रो प्रतिक्रिया पाइरहेको छ। ट्रेलरमा नव-नायक सलिनमान बानियाँ र अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहको जोडीलाई पनि दर्शकले रुचाएका छन्।
भदौ १६ मा रिलिज हुने फिल्ममामा साम्राज्ञी र सलिनमानका साथै सलोन बस्नेत, विल्सनविक्रम राई, बुद्दी तामाङ, अनुभव रेग्मी, सुमन पौडेल, अजश्र ढुंगाना, अनुराग कुँवर लगायतको अभिनय छ। सुहाना इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको फिल्मका निर्माता सुनिलकुमार थापा हुन्।