प्रदर्शनको अन्तिम तयारीमा रहेको फिल्म ‘रुद्र’को प्रचार प्रसारको लागी यतिबेला निर्माण टिम मरिमेटेर लागेको छ । रिलिजको लागी अब पाँच दिन मात्र बाँकी रहँदा एक्शन स्टार निखिल उप्रेती अनि लिड कलाकार विश्व र सारासँगै निर्माण टिम प्रचारको दौडधुपमा व्यस्त हो ।
यो बीचमा शनिबार अभिनेता निखिल उप्रेती दर्शकसँग नजिकबाट साक्षात गर्न काठमाडौं, भक्तपुर, ललितपुरसँगै बनेपासम्मका हल- हलमा पुगेका छन् । निर्देशक रामजी लामिछाने, एक्शन निर्देशक हिमाल केसी, वितरक गोपाल कायस्थसहित अन्य लिड कलाकारहरुलाई लिएर निखिल हल-हलमा पुगे नेपाली फिल्मलाई माया गरेर हल सम्म आएका दर्शकमाझ ‘रुद्र’को बारेमा जानकारी गराए, फिल्म हेर्न आइदिन आग्रह गरे ।
निखिलसँगै विश्व र सारा हलमा पुग्दा दर्शकले ‘रुद्र’ रुद्र’ को हुटिङ गरे, सेल्फी र तश्विरमा रमाए । ‘नजिकबाट दर्शकसँग साक्षात हुने अनि ‘फेस टु फेस’ फिल्मको बारेमा जानकारी पुर्याउने हेतुले नै हल-हलमा पुगेका हौं, निखिलले भने, ‘ दर्शकले ‘रुद्र’को बारेमा लिएको चासो तथा मेरो फिल्म प्रतिको पर्खाईले उत्साहित बनाएको छ, शुक्रबार रिलिज हुँदै गर्दा राम्रो साथ मिल्नेमा विश्वस्त छु ।’
‘रुद्र’ टिम शनिबार राजधानी आसपासका दर्जन बढि हलमा पुगेको थियो । यो फिल्म मार्फत सय बढि फिल्म गरिसकेका निखिलले पहिलो पटक भिलेनको स्वाद दर्शकलाई पस्किँदै छन् । फिल्म निखिल उप्रेती प्रोडक्सनको व्यानरमा निर्माण हुँदा उनि स्वयंम निर्माताको रुपमा प्रस्तुत छन् ।
पछिल्ला रिलिज केहि फिल्मको प्रचार प्रसारमा सुटिङको ‘सेड्युअल’ जुधाएको, प्रचारमा साथ नदिएको आरोप लाग्दै गर्दा निखिल यो पटक भने सिधा दर्शकमाझ पुगेका हुन् । मिडिया तथा सामाजिक सञ्जाल मार्फतको सबैखाले प्रचारमा उनि सिधा प्रस्तुत भईरहेका छन् । एक्सन लभ स्टोरी जनराको फिल्मको रिलिज ट्रेलरले युट्युव तथा अन्य सामाजिक सञ्जालमा लोकप्रियता कमाउँदो छ । लिड अभिनेता विश्व र अभिनेत्री साराको लागी ‘रुद्र’ डेब्यू फिल्म हो ।