केही दिन अगाडी मात्र भारतको दिल्लीमा भएको ‘मिस भारत वर्ल्ड २०१६’ की फस्ट रनरअप नायिका एवं निर्मात्री उमा वेवीकी छोरी सिवानी गिरीले नायक भूवन केसीसँग चलचित्रमा काम गर्ने भएकी छिन् । शुक्रबार राजधानीमा अन-टाइटल प्रोजेक्टको घोषणा गर्दै निर्मात्री उमा वेवीले आफ्नी छोरी सिवानी गिरी चलचित्रको प्रमुख भुमिकामा हुने जानकारी दिइन । सविर श्रेष्ठले निर्देशन गर्ने चलचित्रमा शिवानीको अलवा नायक भूवन केसी, नम्रता योगी लगायतका कलाकारहरुको पनि अभिनय रहनेछ ।
कार्यक्रममा बोल्दै उमा वेवीले भनिन्, ‘मेरो छोरीलाई चलचित्रमा अहिले नै डेव्यू गराउने मेरो कुनै सोच थिएन जसरी शिवानीले विभिन्न सौन्दर्य प्रतियोगीताहरुको उपाधी जितिन् त्यसपछि चाहिँ मलाई लाग्यो कि उनी पनि चलचित्र खेल्न योग्य भएकी छिन् ।’ उनले अगाडी थप्दै भनिन्, ‘शिवानीले पछिल्लो समय विभिन्न सौन्दर्य प्रतियोगीताहरुको उपाधी जितिरहेकी छिन्, त्यसपछि किन आफ्नै चलचित्रबाट उनलाई डेव्यू नगराउने त भन्ने सोचले शिवानीलाई चलचित्रमा फाइनल गरेका हौ ।’
उनका अनुसार अहिले चलचित्रका लागि नव-नायकको खोजी हुँदैछ । सिवानी ‘मिस भारत वर्ल्ड २०१६’को फस्ट रनरअप, मिस भारत सिक्किम २०१६ को विनर, मिस भारत हिमालया २०१६ को विनर समेत हुन् । सिवानी १५ बर्ष पुगेर १६ बर्षमा लागेको अवसरमा चलचित्रको घोषणा गरिएको हो ।
निर्देशक सविर श्रेष्ठका अनुसार केही दिन भित्रै चलचित्रको नाम घोषणा गरिनेछ । निर्देशक सविर श्रेष्ठले ‘इशारा’पछि उमासँग चलचित्र बनाउन लागेको भन्दै कथावस्तु सिक्किम र नेपाल जोड्ने बिषयमा तयार हुने बताए । त्यस्तै कार्यक्रममा बोल्दै नायक भूवन केसीले चलचित्रको कथावस्तु आफुलाई निकै मन परेका कारण काम गर्न लागेको बताए । चलचित्रमा शिव ढकालको छायांकन, सचिन सिंहको एक्सन रहनेछ । सोही कार्यक्रममा बोल्दै चलचित्रकी नायिका शिवानी गिरीले विभिन्न सौन्दर्य प्रतियोगीता जितेपछि आफूलाई अभिनयले आकर्षित गरेको बताइन् । उनले आमा र हजुरआमाको प्रेरणाले यो क्षेत्रमा आउन लागेको जानकारी दिइन् ।