फिल्म ‘जोनी जेन्टलम्यान’ले आइतवार ‘प्रेस शो’को आयोजना गरेको थियो। राजधानीको बिग मुभिजमा आयोजित प्रेस शोमा फिल्मले मिश्रित प्रतिक्रिया पाएको छ। फिल्म हेरिसकेर बाहिरिएका अधिकंश दर्शकले फिल्मको कथाबस्तु तथा फिल्मको प्रस्तुतिमा केहि कमजोरी भएको बताए भने पत्रकारहरुले पनि फिल्मको कथाबस्तु र प्रस्तुतिमा नै खोट देखाए। फिल्ममा अपत्यारिला दृश्यहरु भएको भन्दै जसले फिल्मलाई फितलो बनाएको पत्रकारहरुको भनाई थियो।
म्युजिक भिडियो तथा सर्ट फिल्म निर्देशनमा आफ्नो स्थान बनाइसकेका नितिन चन्दले निर्देशन गरेको फिल्म ‘जोनी जेन्टलम्यान’को निर्देशकीय पक्ष पनि निकै कमजोर देखियो। फिल्मको छायाँकन तथा सम्पादन पनि त्यति सन्तोषजनक देखिएन। उपस्थित पत्रकारहरुले फिल्म निर्देशन गर्नको लागि निर्देशक चन्दले अझै धेरै मेहनत गर्नु पर्ने बताए।
फिल्मको कथाबस्तु तथा प्रस्तुती कमजोर भएता पनि फिल्मको गीतसंगीत भने राम्रो भएको दर्शक प्रतिक्रिया थियो। अजय मल्ल ठकुरी र अड्रिउड पौडेलको लगानीमा निर्माण भएको फिल्ममा पल शाह र आँचल शर्माको मुख्य भूमिका रहेको छ। आइतवार पत्रकार तथा दर्शकसँग फिल्म हेर्न निर्देशक चन्द, निर्माता द्वय अजय मल्ल र अड्रिउडसँगै पल र आँचल पनि त्यहाँ पुगेका थिए।