केही कलाकार पहिलो फिल्म असफल भएपनि, पछि राम्रो ब्यानरको साथ पाएर उठेका छन् । तर, केही कलाकार पहिलो फिल्ममै झट्का खाएपछि थन्किएका छन् । फिल्म ‘ग्याङस्टार ब्लूज’बाट डेब्यू गरेका अभिनेता आशिरमान देशराजका लागि अहिले यस्तै भएको छ । उनी, पहिलो फिल्म असफल भएपछि अप्ठ्यारोमा परेका छन् ।
यो फिल्म रिलिज नहुँदै निर्माता रोहित अधिकारीले उनलाई फिल्म ‘ब्रेकअप’मा १५ लाखमा अनुवन्धित गरेका थिए । पछि, यो १५ लाखको चर्चा पनि चर्चा मात्र रहेको बताइयो ।
अब, मिडिया खबरलाई मान्ने हो भने यो फिल्मबाट आशिरमान बाहिरिसकेका छन् ।
आशिरमानको फिल्म ‘ग्याङस्टार ब्लूज’ असफल भएपछि रोहित र निर्देशक हेमराज वीसीले उनलाई नलिने सोच बनाएका हुन् । खबरअनुसार त, यो फिल्मका लागि अभिनेता अनमोल केसीलाई पनि अफर गरिएको थियो । तर, अनमोलले होम प्रोडक्शनको फिल्म रहेको बताउँदै फिल्म नखेल्ने बताएका थिए ।
अब, ‘ब्रेकअप’ कहिले बन्छ भन्ने टुंगो छैन । यो फिल्मका लागि संझौता गरेकी अभिनेत्री शिल्पा मास्के पनि नयाँ फिल्ममा व्यस्त भैसकेकी छिन् ।