अभिनेता हरिवंश आचार्य र अभिनेत्री दीपाश्री निरौलाको एउटा गज्जबको तस्बिर बाहिरिएको छ । अभिनेता आचार्य ट्याक्टर चलाउँदै छन् भने अभिनेत्री दीपाश्री निरौला उनलाई छाता ओडाउँदै छिन् ।
यो तस्बिर फिल्म ‘सत्रु गते’ को हो । चैत्र ९ गतेबाट प्रदर्शन हुने यो फिल्मको अहिले धमाधम छायांकन भैरहेको छ । छायांकनका क्रममा रहेको फिल्मको यो तस्बिर फिल्मकै अर्का कलाकार दीपकराज गिरीले सार्वजनिक गरेका हुन् ।
उनले एकातिर अभिनयका खानी, अर्कोतिर रुपकी खानी भन्दै यो तस्बिर सार्वजनिक गरेका हुन् । प्रदिप भट्टराइको निर्देशनमा छायांकन भैरहेको फिल्मलाई मह संचारले निर्माण गरिरहेको छ ।
फिल्ममा दीपा र हरिवंश श्रीमान् श्रीमतिको भूमिकामा देखिएका छन् । यसैले पनि उनीहरुको यो तस्बिरले दुइको रोमान्टिक अवतारको झल्को दिन्छ । मधेसमा यो फिल्मको छायांकन गरिएको थियो । यो फिल्ममा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, दीपकराज गिरी, दीपाश्री निरौला, प्रियंका कार्की, पल शाह, आँचल शर्माको मुख्य भूमिका छ ।