क्रिसमसको मौका छोपेर रिलिज भएको बलिउड फिल्म ‘टाइगर जिन्दा हे’ले ३ दिनमै २ वटा नयाँ रेकर्ड बनाएको छ । फिल्मले ३ दिनसम्म आक्रामक कमाई मात्र गरेको छैन, यसअगाडि बनेका केहि रेकर्डलाई तोडेको छ ।
सोमबार क्रिसमसको बिदा भएकाले फिल्मले अझै केहि रेकर्डहरु बनाउनेछ । फिल्मले शुक्रबार ३४.१० करोडको कमाई गरेको थियो । शनिबार ३५.३० करोडको व्यापार फिल्मले गर्यो । आइतबार बिदाको दिन फिल्मको ब्यापार निकै आक्रामक बन्यो । फिल्मले आइतबार ४५.५३ करोड कमायो ।
योसँगै फिल्मले ३ दिनमा ११४.९३ करोडको कमाई गरेको छ । बलिउडमा कुनै पनि फिल्मले एक दिनमा ४५.५३ करोडको कमाई गरेको थिएन । यो एउटा रेकर्ड फिल्मले बनाएको छ । यस्तै, हालसम्म ३ दिनमा सवैभन्दा बढी कमाउने फिल्मको रेकर्ड ‘ह्याप्पी न्यू इयर’को थियो, जसले ३ दिनमा १०८ करोड कमाएको थियो । सलमानको ‘टाइगर जिन्दा हे’ले त्यो रेकर्ड तोडेको छ ।
१५० करोडको लागतमा बनेको फिल्मले ३ सय करोडको आँकडा पार गर्ने अनुमान लगाउन सकिन्छ । फिल्ममा अभिनेता सलमान खान र अभिनेत्री कट्रिना कैफको मुख्य भूमिका छ ।