अभिनेत्री पूजा शर्माको एक भिडियो फेसबुकमा केहि दिन चर्चित बन्यो । उनले, व्यायम गर्दै गरेको भिडियो भाइरल मात्र भएन, उनी किन र केका लागि यस्तो मिहिनेत गरिरहेकी छिन् भन्ने पनि धेरैका लागि कौतुहलताको बिषय बन्यो ।
अभिनेत्री शर्माको यो मिहिनेत एक नयाँ फिल्मका लागि हो । नाम तय नभैसकेको फिल्ममा पूजा आफै मुख्य भूमिकामा देखिदैछिन् । जसलाई निर्देशक सुदर्शन थापाले नै निर्देशन गर्दैछन् ।
फिल्मलाई महिला केन्द्रित बनाउने तयारी पूजाको छ । सुदर्शन र पूजा मिलेर यो फिल्म बनाउन लागेका हुन् । फिल्म ‘म यस्तो गीत गाउँछु’मा समेत निर्मात्रीको रुपमा देखिएकी पूजा बाहिरी ब्यानरका फिल्ममा खासै काम गर्दिनन् । यसैले, उनले आफ्नै लगानीमा बन्न लागेको नयाँ फिल्मका लागि यो मिहिनेत गरिरहेकी छिन् । जसकालागि, उनी नयाँ बानेश्वरको एक क्लबमा धाइरहेकी छिन् ।