चलचित्र विकास बोर्डको अध्यक्ष पदमा नियुक्त भएपछि गोपिकृष्ण मुभिजकी प्रमुख निकिता पौडेलले आफ्नो कामबाट राजीनामा दिइन् । बोर्डमा नै आफ्नो सम्पूर्ण समय दिने भन्दै उनले आफ्नो कामबाट राजीनामा दिएको बताइन् । तर, पनि निकिताको आलोचना नियुक्तीसँगै भयो ।
बोर्ड अध्यक्षमा नियुक्त भएपछि उनलाई अन्य सदस्यहरुले सहयोग गरेनन् । जसकाकारण, उनले आफ्नो एजेन्डा नै बोर्ड मिटिङमा राख्न पाएकी थिइनन् । तर, अब बोर्ड सदस्यहरु पनि सहयोग गर्न तयार भएकाले बोर्ड मिटिङ बस्ने निकिताले मिडियासँग भनेकी छिन् ।
निकिताको मुख्य एजेन्डामा बक्स अफिस लागू गर्नु नै रहेको छ । उनले आफूले कार्यकाल सम्हालेको १ बर्षको अवधीमा बक्स अफिस लगाइसक्ने दाबी समेत गरेकी छिन् । साथै, निकिताले केहि महिना भित्रमा नै इ–टिकेटिङको व्यवस्था देशका धेरै हलमा गर्ने बताएकी छिन् ।
आफूले राजनीति नियुक्ती भन्दा पनि सरकारी नियुक्ती पाएको बताउने निकिताले काम हेरेपछि मात्र आलोचना गर्न फिल्मीकर्मीलाई आग्रह पनि गरेकी छिन् ।
लामो समयदेखि रिक्त रहेको चलचित्र विकास बोर्ड निकिताको आगमनसँगै २ बर्षका लागि पूर्ण त भएको छ । तर, निकिताले काम गरेर देखाउन सक्छिन् या सक्दिनन् भन्ने मुख्य चुनौती बनेको छ ।