फिल्म ‘द ब्रेकअप’को अन्ततः घोषणा भएको छ । यो फिल्मको घोषणासँग आजबाट छायांकन पनि सुरु भएको छ । फिल्मको छायांकन नेपाल र अष्ट्रेलियामा हुने जानकारी पत्रकार सम्मेलनमा दिइएको छ । यो फिल्मलाई रोहित अधिकारीले निर्माण गर्दैछन्, जसले यसअगाडि फिल्म ‘गाजलु’ निर्माण गरेका थिए ।
हेमराज बीसीको निर्देशनमा फिल्म बन्दैछ । फिल्ममा आशिरमान देशराज जोशी, सलोन बस्नेत, रेमनदास श्रेष्ठ, शिल्पा मास्के, इच्छा कार्की, सरोज खनाल लगायतका कलाकारको मुख्य भूमिका रहनेछ । कमेडी रोमान्टिक प्रेम कथामा फिल्म बन्न लागेको जानकारी यसका निर्देशक हेमराज वीसीले दिएका छन् ।
फिल्मलाई वि.सं २०७५ सालको भदौ १५ गतेबाट रिलिज गरिने पत्रकार सम्मेलनमा जानकारी दिइयो । फिल्मको कथावस्तुमा चित्त नवुझेका कारण निर्माणमा केहि समय ढिला भएको जानकारी निर्माण टोलीले दिएको छ ।