फिल्म ‘कृ’का निर्माता सुवास गिरीले आफूलाई अपहरणको शैलीमा हिरासतमा राखिएको बताएका छन् । मंगलबार बेलुकी छलफलका लागि भन्दै बोलाएर आफूलाई अपहरणको शैलीमा हिरासतमा राखिएको बताए ।
उनले फेसबुकमा स्टाटस लेख्दै भनेका छन्–‘मलाई मंगलबार छलफला लागि आउनु भनेर जुन अपरहण शैलीमा हिरासतमा राखि मनोमानी तरिकाले गीत चोरिएको आरोपमा क्षतीपूर्ती स्वरुप ११ लाख तिराइयो, यो घटनाले मलाई एकदमै दुःख लागेको छ । संगीतकारले गरेको गल्तीमा पनि छलफल गरेर समस्या समाधान गर्न तयार हुँदा हुँदै पनि अग्रज दाइहरुबाट यस्तो व्यवहार के उचित होला ?’
अग्रजहरुको यस्तो व्यवहारले नयाँ आउने निर्माताले कस्तो पाठ सिक्ने भन्दै उनले सबैले सोच्नु पर्ने बेला आएको बताएका छन् । फिल्म ‘कृ’मा समावेश ‘उकालीमा अघि अघि’ बोलको गीत फिल्म ‘संझना’बाट चोरिएको भन्दै यसका निर्देशक शम्भु प्रधानले उजुरी दिएका थिए । उजुरीको आधारमा मंगलबार निर्माता सुवास गिरी छलफलका लागि प्रहरी प्रभाग, टेकु पुगेका थिए । तर, उनलाई हिरासतमा राखिएको थियो । वुधबार उनी शम्भुलाई ११ लाख वुझाउन तयार भएपछि शम्भुले मुद्दा फिर्ता लिएका थिए ।