फिल्म ‘कृ’का निर्माता सुवास गिरीले कानुनी लडाई लड्ने बताएका छन् । आफूलाई अपराधीको जस्तो व्यवहार गरिएको भन्दै उनले कानुनी लडाई लड्ने बताएका हुन् ।
मंगलबार बेलुकी छलफलका लागि भन्दै प्रहरी परिसर, टेकुमा पुगेका गिरीलाई प्रहरीले पक्राउ गर्दै थुनामा राखेको थियो । हिरासतमा राखेर आफूलाई अन्य अपराधीको जस्तै हतकडी लगाएर मेकिडल जाँचमा लगिएको पनि उनले बताएका छन् ।
निर्देशक शम्भु प्रधानले माथिल्लो निकायसँगको चिनजानका कारण आफूलाई हिरासतमा राखेर पैसाको बार्गेनिङ गरेको सुवासले आरोप लगाएका छन् । एउटा देशको नागरिक भएको नाताले पनि आफूले यस बिषयमा कानुनी उपचार खोज्ने उनको भनाई छ ।
सुवासले निर्माण गरेको फिल्म ‘कृ’मा समावेश ‘उकालीमा अघि अघि’ बोलको गीत आफूले निर्माण गरेको फिल्म ‘संझना’को गीतबाट चोरिएको भन्दै निर्देशक शम्भु प्रधानले प्रहरीमा उजुरी दिएका थिए । अधिकांश फिल्मीकर्मीले घरमै मिल्ने कुरा प्रहरीसम्म पुर्याएर शम्भुले आफ्नो इज्जतमा दाग लगाएको टिप्पणी गरेका छन् ।