दयाहाङ राईको मुख्य भूमिका रहेको फिल्म ‘दयारानी’को पहिलो गीत सार्वजनिक भएको छ। नयाँ वर्षको अवसर पारेर फिल्ममा समावेश ‘चिरी च्याट्टै’ बोलको गीत सार्वजनिक गरिएको हो। सार्वजनिक गीतमा राजनराज सिवाकोटीको शब्द, संगीत र स्वर छ। गायनमा राजनराजलाई मेलिना राईले साथ दिएकी छन्।
लोकलयमा तयार गरिएको गीतको भिडियोमा दयाहाङ र दीया पुन फिचर्ड छन्। विक्रम स्वाँरको कोरियोग्राफी रहेको भिडियोमा दया र दीयाको केमेस्ट्री निकै सुहाएको छ।
माओत्से गुरुङको निर्देशनमा तयार भएको फिल्ममा एक खराब श्रीमान र एक दयालु श्रीमतीको कथा भनिने छ। फिल्मको कथा निर्देशक स्वयम्ले लेखेका छन्। सिनेमा आर्टस्को ब्यानरमा निर्माण भएको फिल्ममा मोहन गुरुङ, किरण गुरुङ, केन्द्र लिम्बु र न्यू आइटी भेन्चरको लगानी रहेको छ। फिल्मका कार्यकारी निर्माता रामबाबु गुरुङ र अपिल विष्ट हुन्।
जेठ १० गतेबाट प्रदर्शनमा आउने फिल्ममा दया र दीयाका अलवा विजय बराल, प्रमिसा गुरुङ, पुस्कर गुरुङ, टिकाराम घलेलगायतको अभिनय छ। फिल्मलाई शैलेन्द्र डि. कार्कीले खिचेका हुन्।