‘६ एकान ६’ र ‘वडा नम्बर ६’ निर्माण गरेपछि हास्यकलाकार दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्मा एक सफल निर्माता सावित भए । हास्य विधामा तयार भएको यि दुबै चलचित्र सफल भएपछि अहिले यही यूनिटले नयाँ चलचित्र ‘छक्का पन्जा’ निर्माण गरेको छ, जुन यही भदौ २४ गतेबाट देशव्यापी प्रदर्शनमा आउँदैछ । ‘६ एकान ६’ चलचित्रदेखी नै हास्य विधालाई समेटेर निर्माण भएको चलचित्र ‘छक्का पन्जा’ लाई पहिलो पटक हास्यकलाकार दीपाश्री निरौलाले निर्देशन गरेकी हुन्, त्यसैले पनि दीपाश्रीलाई अहिले यो चलचित्र अग्नी परिक्षा बनेको छ ।
यही बिच चलचित्रका कलाकार एवं निर्माता दीपकराज गिरीले ‘६ एकान ६’ र ‘वडा नम्बर ६’ मा आफुले अभिनयसँगै सहायक निर्देशक भएर काम गरेको खुलाएका छन् । उनले भने -‘हामी टिममा सधै एकअर्कालाई सहयोग गरेर काम गर्छौ, जसले गर्दा निर्देशकलाई मात्र पनि भार नपरोस् । मैले छक्का पन्जाको छायाँकनको बेला पनि दीपाश्री लाई निकै सघाएको थियो । हामी निर्देशकलाई यो तेरो फिल्म हो, तै गर भनेर छोड्दैनौं ।’ चलचित्र छक्का पन्जाको रिलिजको पूर्वसन्ध्यामा दीपाकराज गिरीले आफु प्रसब पिडामा रहेको बताए । उनले अगाडी भने -‘अहिलेको बेला हाम्रो लागि प्रसब पिडा हो । यति बेला सबैको साथ आबश्यक हुँदो रै’छ ।’ उनले यस पटकको चलचित्र छक्का पन्जाको बलियो पक्ष भनेको पटकथा रहेको पनि खुलाउन भ्याए । त्यस्तै उनले एक अन्तर्वार्तामा चलचित्र ‘छक्का पन्जा’ भित्र गम्भिर कथा वस्तु लुकेको बताउँदै अगाडी भने -‘हास्यकलाकारबाट मलाई नायक बनाइदियो । त्यसैले हास्य विधामा मलाई जसरी दर्शकहरुले रुचाउनु भएको थियो त्यसरी नै नायकको भुमिकालाई पनि मनपराउनु भएको छ ।’ उनले दीपाश्री निरौलासँगको सम्बन्ध अनुशासित र असल मित्रको रहेको पनि बताए ।
दीपकराज गिरी, प्रियंका कार्की, जितु नेपाल, बुद्धि तामांग, शिवहरी पौडेल लगायतका कलाकारहरुको अभिनय रहेको छक्का पन्जाको गीतमा दीपक शर्मा र गएको बर्ष ‘बडा नम्बर ६’ मा समाबेश ‘सुर्के थैली खोइ’ गीतका संगीतकार राजनराज सिवाकोटीको संगीत रहेको छ । चलचित्र छक्का पन्जाको गीतमा कविराज गहतराजको कोरियोग्राफी रहेको छ भने रोशन श्रेष्ठको एक्शन रहेको छ ।