मंसिर ४ गते हुने भनिएको चलचित्र निर्माता संघको साधारण सभा र चुनावका लागि अहिले देखी नै निर्माताहरुले आफ्नो उम्मेदवारी घोषणा गर्न सुरु गरिसकेका छन् । यसै बिच चलचित्र निर्माताहरुको छाता संगठन निर्माता संघका लागि चलचित्र निर्देशक एवं निर्माता आकाश अधिकारीले आफ्नो उम्मेदवारी घोषणा गरेका छन् । उनले ३ हप्ताका लागि अमेरिका जाने गर्ने क्रममा निर्माता संघको अध्यक्ष पदका लागि उम्मेदवार घोषणा गरेका छन् । द स्काइ मुभीका प्रमुख समेत रहेका आकाश क्रमश निर्माता संघको महासचिव र उपाध्यक्ष भइसकेका छन् । चलचित्र विकास बोर्डले गठन गरेको ‘बक्स अफिस समिती सदस्य’को रुपमा समेत काम गरिसकेका आकाशले निर्माता संघलाई सही नेतृत्व दिन आवश्यक रहेको बताएका छन् । सामाजिक सञ्जालबाट आफ्नो उम्मेदवारी घोषणा गर्ने क्रममा उनले निर्माता संघसँग आबद्ध सदस्यको हकहितका लागि काम गर्ने, हप्तामा दुई तीन नेपाली फिल्म एकसाथ रिलिज हुनुपर्ने बाध्यतालाई हटाउन पहल गर्ने, बजारको खोजी गर्ने, विदेशी नियोगसँग सम्पर्क गर्ने, चलचित्र विकास बोर्डसंगको सहकार्यमा चलचित्र क्षेत्रसंग सम्बन्धित विभिन्न पेशागत संगठन लगायत अन्य सरोकारवाल सस्थाहरुको सहयोगमा बक्स अफिस लागू गर्ने वातावरण बनाउन प्रयत्न गर्ने लगाएतका एजेन्डा सार्वजनिक गरेका छन् । खबरका अनुसार निर्माता संघका महासचिव केशव भट्टराई र संघका उपाध्यक्ष निर्माता रोज राणा पनि निर्माता संघको अध्यक्ष पदमा उम्मेदवार दिने तयारीमा रहेका छन् ।







