बलिउड अभिनेता अजय देवगनको फिल्म ‘शिवाय’ र करण जौहरको फिल्म ‘ए दिल है मुश्किल’को ‘रिलिज डेट’ एउटै हुने भनिएपछि सिर्जना भएको विवाद अहिलेसम्म पनि बलिउडमा जारी छ । तर, अजयकै अर्को फिल्म पनि फेरि अर्का अभिनेता सलमान खानसँग जुध्न सक्ने भएकाले नयाँ विवाद सिर्जना भएको छ । अजयको फिल्म ‘गोलमाल–४’ अर्को वर्ष तिहारको छेकमा रिलिज हुने तयारी गरिएको छ । यही समय सलमान खानको फिल्म पनि रिलिज हुँदै छ, जसलाई उनकी बहिनी अलवीरा अग्निहोत्रीले निर्माण गरेकी हुन् । सलमान र अजय अत्यन्त मिल्ने साथी मानिन्छन्, तर अब फिल्म जुधेपछि उनीहरूको सम्बन्ध चिसिन सक्ने सम्भावना बढेको अनुमान भारतीय मिडियाले लगाएका छन् ।