नायक आर्यन सिग्देललाई दर्शकहरुले पर्दामा देख्न नपाएको पनि झण्डै एक बर्ष हुन लागिसकेको छ । गएको बर्ष चलचित्र क्लासिकमा अभिनय गरेपछि उनले अन्य कुनै पनि चलचित्रमा काम गरेका छैनन् । चलचित्र क्लासिकबाट लगातार यस बर्ष अवार्ड थापिरहेका आर्यनलाई अहिले धेरैले चलचित्रको अफर नै नआएर खाली बसेको पनि भन्ने गरेका छन् । खासमा कुरा त्यसो होइन ।
उनलाई चलचित्र क्लासिकपछि अन्य व्यानरबाट निर्माण हुने थुप्रै चलचित्रबाट अफर आएका थिए तर उनले सबै ‘रिजेक्ट’ गरेका छन् । यसको मुख्य कारण हो, आफुले अभिनय गरेका पछिल्ला चलचित्रहरु लगातार फ्लप हुनु । आफू अभिनित अलबिदा, नाइके, आवेगलगायतका चलचित्र असफल भएपछि उनी अत्तालिएका हुन् ।
त्यसपछि नै उनले उप्रान्त बाहिरी ब्यानरका चलचित्र नगर्ने घोषणा पनि गरेका थिए । यसै बिच उनले बाहिरी व्यानरमा बन्न लागेको चलचित्र मरिनामा भने काम गर्दैछन् तर यो चलचित्रको छायाँकन डिसेम्बरबाट मात्रै सुरु हुने बताइन्छ ।
बाहिरी व्यानरमा अभिनय नगर्ने बताएपनि आर्यनले हाल प्रदर्शन भइरहेको चलचित्र छक्का पन्जामा भने काम गरेका थिए तर यो चलचित्रमा उनको मुख्य भुमिका थिएन । चलचित्र छक्का पन्जामा गेस्ट रोलमा देखिएका आर्यनलाई दर्शकहरुले भने राम्रै रुचाए । तर उनीले क्लासिक चलचित्रपछि मुख्य भुमिकामा रहेर कुनै पनि चलचित्रमा काम भने गरेका छैनन् । खबरका अनुसार चाँडै नायक आर्यन आफ्नो होम प्रोडक्शनबाट नयाँ चलचित्र निर्माण गर्दैछन्, जसलाई क्लासिक निर्देशक दिनेश राउतले निर्देशन गर्ने बताइएको छ । यसरी हेर्दा आर्यनको यो बर्ष कुनै पनि चलचित्र रिलिज नहुने देखिन्छ ।