कार्तिक २६ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको चलचित्र ‘जात्रा’ अहिले दर्शकहरुको प्रतिक्षित चलचित्र बनिरहेको छ । सार्वजनिक ट्रेलर र गीतबाट राम्रै प्रतिक्रिया बटुलिरहेको चलचित्र ‘जात्रा’ का निर्देशक प्रदिप भट्टराईले चलचित्र मनोरञ्जनात्मक रहेको बताए । सोमबार राजधानीमा पत्रकारहरुसँग कुराकानी गर्दै उनले भने -‘हामीले दर्शकहरुले खोजे जस्तो स्वाद चलचित्र ‘जात्रा’ बाट दिन खोजेका छौ । चलचित्रमा हामीले हाम्रै विषयवस्तु समेटेका छौ । हाम्रै गाउँको कथा, हाम्रै यूवाहरुको कथा चलचित्र जात्रामा देखाएका छौ । चलचित्रमा हामीले मनोरञ्जन मात्र होइन अलि भारी खाल्को मनोरञ्जन दिने प्रयास गरेका छौ । ‘
उनले चलचित्रमा बिपिन कार्की (भष्मे डन) र निर्माता तथा कलाकार रविन्द्र सिहं बानिया (हनुमान जी) को फरक भूमिका देख्न सकिने पनि बताए । त्यस्तै चलचित्रका निर्माता तथा कलाकार रविन्द्र सिहं बानियाँले चलचित्र ‘जात्रा’ को कथा आफुहरुले इमान्दारीताका साथ पस्केको बताए । उनले भने -‘दर्शकहरुले चलचित्र ‘जात्रा’ बाट फरक स्वाद चाख्न पाउनु हुनेछ । हामीले चलचित्रमा पैसामा पछाडी दौडिदा कस्तो हवीगत हुन्छ भन्ने देखाउन खोजेका छौ ।’
त्यस्तै पत्रकारसँग कुराकानी गर्दै चलचित्रका कलाकार बिपिन कार्कीले आफु चलचित्र ‘जात्रा’मा स्टेशनरी पसलेको भुमिकामा देखिएको बताए ।
यो चलचित्रमा बर्षा राउत, बिपिन कार्की, रबिन्द्रसिहं बानियाँ, रबिन्द्र झा, प्रेक्षा बज्राचार्यको मुख्य भूमिका रहेको छ ।