अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) ले बुधबार गरेको ‘चौँथो इनास फिल्म अवार्ड’ मा गएको बर्ष प्रदर्शनमा आएको चलचित्र ‘क्लासिक’ ले उत्कृष्ट अभिनेता, अभिनेत्रीसहित सर्वाधिक पाँच विधामा अवार्ड जितेको छ । अवार्डमा ‘क्लासिक’ बाट निर्देशक दिनेश राउतले उत्कृष्ट जुरी अवार्ड हात पारेका छन् । अवार्डमा ‘क्लासिक’ बाट उत्कृष्ट अभिनेतामा आर्यन सिग्देल, अभिनेत्रीमा नम्रता श्रेष्ठ, सम्पादक सुरेन्द पौडेल, उत्कृष्ट गीतकार डा. कृष्णहरि बराल र गायकमा युवराज चौलागार्इंले अवार्ड हात पारेका छन् । त्यस्तै सोही इनास अवार्डमा चलचित्र ‘पशुपति प्रसाद’ ले उत्कृष्ट चलचित्रसहित निर्देशन, पटकथा लेखन र खलपात्रमा अवार्ड जित्न सफल भयो । निर्देशकमा दीपेन्द्र के खनाल, पटकथा लेखन खगेन्द्र लामिछाने र खलपात्रमा विपीन कार्कीले अवार्ड जितेका हुन् ।
कस-कसले जिते ‘इनास अवार्ड’ :-
नवअभिनेता ‘होस्टेल रिटर्नस्’ बाट सुशील सिटौला
नवअभिनेत्री ‘ड्रीम्स’ बाट साम्राज्ञी राज्यलक्ष्मी शाह
सहअभिनेता ‘होस्टेल रिटर्नस्’ बाट नाजिर हुसेन
सहअभिनेत्री चलचित्र ‘सुन्तली’ बाट सूर्यमाला खनाल
उत्कृष्ट गीत चलचित्र ‘वडा नम्बर ६’ को ‘सुर्केथैली खै…’
पपुलर अवार्ड संगीतकार राजनराज सिवाकोटी
उत्कृष्ट नृत्यनिर्देशक ‘वडा नम्बर ६’ को ‘सुर्केथैली खै…’ बाट शंकर बिसी
उत्कृष्ट गायिका ‘वडा नम्बर ६’ को ‘सुर्केथैली खै…’ बाट गायिका अञ्जु पन्त
उत्कृष्ट संगीतकार चलचित्र ‘प्रेमगीत’ बाट अर्जुन पोखरेल
उत्कट द्वन्द्व निर्देशक चलचित्र ‘भैरव’ बाट हिमाल केसी
उत्कृष्ट छायांकार चलचित्र ‘ड्रिम्स’ बाट पुरुषोत्तम प्रधान र सञ्जय लामा
उत्कृष्ट हास्यकलाकार चलचित्र ‘अधकट्टी’ बाट विल्सनविक्रम राई
इनासले अभिनेता डेनी डोङजोम्पालाई लाइफ टाइम अचिभमेन्टले सम्मान गरेको छ । नेपाली चलचित्र ‘साइनो’ मा अभिनय र केही नेपाली गीत समेत गाएका डेनीले भारतको चौथो प्रतिष्ठित पद्मश्री सम्मानसमेत पाइसकेका छन् । सिक्किमका मुख्यमन्त्री तथा साहित्यकार पवन चाम्लिङ (किरण) लाई पनि विश्व व्यक्तित्व सम्मान प्रदान गरिएको थियो । त्यस्तै सोही अवार्डमा सिन्धुपाल्चोकको गिरानचौरमा नमुना बस्ती निर्माण गरेका सीताराम कट्टेल र कुञ्जना घिमिरेको जोडीलाई विशेष सम्मान गरिएको थियो । अवार्डमा चलचित्रकर्मीहरू तुलसी घिमिरे, टीका पहारी, रमेश बुढाथोकी, नीर शाह, राजेश हमाल, करिश्मा मानन्धर, सञ्चिता लुइँटेल, आर्यन सिग्देल, मनीषा कोइराला, निरुता सिंहसहित रञ्जित गजमेर, विनोद प्रधान, सनी रौनियार लगायत उपस्थित भएका थिए ।