जननायक वीपी कोइरालाका नाति एवं नेपाली चलचित्रका नायक सिद्धार्थ कोइराला पोखरामा जारी नेपाल तरुण दलको महाधिवेशनमा उपाध्यक्ष पदमा लड्ने पक्का पक्की देखिएको छ । विशेषगरि काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल खेमामा उनको चर्चा अहिले एक्कासी ह्वात्तै बढेको छ। नेपाली काँग्रेसका संस्थापक वीपीको नातिपुस्ताले राजनीतिमा त्यति चाँसो नदिइरहेका बेलामा सिद्धार्थले तरुण दलको नेतृत्व सम्हाल्ने आकांक्षा देखाउँदा उनलाई काँग्रेसको मुलधारको राजनीतिमा प्रवेश गराउन अहिले कोइराला परिवार पनि सक्रिय देखिएको छ । नेपाल तरुण दलमा जितजंग बस्नेतलाई अध्यक्ष बनाएर उपाध्यक्षमा आफू पक्षीय सिद्धार्थ कोइरालालाई उपाध्यक्ष बनाउन पौडेलले समर्थन जनाइसकेको श्रोतको दाबी छ ।
देउवा पक्ष जितजंग बस्नेतलाई अध्यक्ष बनाउन सक्रिय देखिएको छ । शेरबहादुर देउवाको यो प्रयासमा बरिष्ठ नेता रामचन्द्र पौडेलले सहयोग गरिरहेको श्रोतले बताएको छ । यसअघि सिद्धार्थले अध्यक्षमा उम्मेवारी दिने पक्कापक्की भएको थियो तर देउवा पक्ष त्यो मान्न तयार नभएपछि अहिले महाधिवेशन समेत लम्बिने सम्भाबना देखिएको छ । यदी देउवा र पौडेल पक्षमा भागबण्डाको कुरा मिल्यो भने सिद्धार्थ उपाध्यक्ष बन्ने पक्का भइसकेको स्रोतले बताएको छ । वीपीपुत्र प्रकाश कोइरालाका छोरा सिद्धार्थ चलचित्र अभिनेता समेत हुन् । उनले नेपाल र भारतमा केही चलचित्रमा अभियन गरेका छन्। सिद्धार्थले केही बर्ष अगाडी मात्र नायिका नम्रता श्रेष्ठको प्रेमी बनेर नेपाली चलचित्र ‘मेघा’ मा काम गरेका थिए । चलचित्रले ब्यबसायिक सफलता हात नपारे पनि उनको अभिनयलाई दर्शकहरुले निकै रुचाएका थिए । उनी नेपाली मुलकी बलिउड नायिका मनिषा कोइरालाका भाइ हुन्।
तरुण दलको महाधिवेशनमा सिद्धार्थलाई काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री तथा सिद्धार्थका काका डा. सशांक कोइरालाले साथ दिइरहेका छन्। सहमतिमा नेतृत्व चयन भएमा तरुण दलको महाधिवेशन सोमबार सकिने छ भने सहमती नभएको खण्डमा एक दिन महाधिवेशन लम्बिने बताइएको छ ।