गएको असोज २१ गते प्रदर्शनमा आएको चलचित्र ‘किस्मत २’ ले सुखद व्यापार गरेपछि निर्माता छविराज ओझाले नयाँ चलचित्र ‘मंगलम’ निर्माण गर्ने भएका छन् । तर, यसअघि छविराज ओझाले चलचित्र ‘किस्मत २’ रिलिज भएपछि चलचित्र ‘हिफाजत २’ निर्माण गर्ने बताएका थिए तर ‘हिफाजत २’ लाई थाती राख्दै उनले ‘मंगलम’ निर्माण गर्न लागेका हुन् । नवल नेपालको निर्देशनमा बन्ने यो चलचित्रमा नायिका शिल्पा पोख्रेल नै मुख्य भुमिकामा हुनेछिन् भने लीड नायकको टुङ्गो लागेको छैन। यसअघि निर्देशक नवल नेपालले छविराज प्रोडक्शनको ब्यानरमा बनेको तथा नायिका शिल्पा पोख्रेलको डेव्यू चलचित्र ‘लज्जा’ निर्देशन गरेका थिए ।
निर्माता छविराज ओझाले भने -‘अब चलचित्र ‘मंगलम’ निर्माण गरेपछि मात्र चलचित्र ‘हिफाजत २’ निर्माण गर्ने छौ । अहिले हामी ‘मंगलम’ निर्माणको अन्तिम तयारीमा छौ । यो चलचित्रका लागी अहिले हामीलाई राम्रो अभिनय गर्ने नायकको खाँचो छ । हामीलाई नयाँ अनुहार चाहिन्छ भन्ने छैन तर राम्रो अभिनय गर्नु आउनु पर्यो ।’
धार्मिक शास्त्रमा ‘मंगलम’ को अर्थ हुन्छ “सुख, शान्ति, शुभ, राम्रो कुराले सबै भरिपूर्ण होस्” । खबरका अनुसार चलचित्र ‘मंगलम’ मा शिल्पासँगै ‘किस्मत २’ का नायक पृथ्वीराज प्रसाईं पनि फाइनल भइसकेका छन् । प्राप्त जानकारी अनुसार नायिका शिल्पा पोख्रेल यो चलचित्रबाट निर्मात्री पनि बन्दैछिन् । केही दिन अगाडी नयाँ कार किनेको बखत ‘सिनेखबर डटकम’ सँग कुराकानी गर्दै उनले चाँडै एक चलचित्रमा लगानी गर्न लागेको खुलाएकी थिइन ।
चलचित्रको कथा गोविन्द फुयालले लेखेका हुन । अहिले यो चलचित्रको गीत रेकर्डिङको काम भइरहेको छ । निर्माता ओझाको तयारी अनुसार ‘मंगलम’ लाई अर्को दशै भित्रमा रिलिज गरिसकिनेछ ।