सुगम ठाउँमा बस्ने धेरैले तुइन भन्ने नाम सुनेपनि गोरखा, धादिङ लगायतका दुर्गम ठाउँका बासिन्दाहरुको त तुइन नै कार हो, तुइन नै प्लेन । तुइन तानेरै खोला वारपार गर्नु पर्ने बाध्यतता अझै पनि गोरखा र धादिङ लगायतका केही दुर्गम ठाउँहरुमा हटेको छैन । एक-दुई जना मानिस थाम्नेदेखि आठ-दस जना थाम्नेसम्मका तार टागेर बनाइने तुइन जति बलियो तार भए पनि यो जोखिमपूर्ण हुन्छ। किनभने यसमा सुरक्षात्मक कुनै उपाय हुँदैन। तार चुडियो भने के गर्ने भन्ने वैकल्पिक व्यवस्था पनि हुँदैन।
यस्तै कथामा एक चलचित्र निर्माण भएको छ तुइन । केही महिना अगाडी सार्वजनिक भएको चलचित्र ‘तुइन’ को टीजरले दर्शकहरुलाई चलचित्रप्रति अझ उत्सुक बनाएको थियो । वास्तविक कथामा निर्माण भएका कारण पनि चलचित्र ‘तुइन’ को टीजरले नै सर्वत्र चर्चा बटुल्यो । यही क्रममा निर्माण पक्षले चलचित्रको पहिलो गीत सार्वजनिक गरेको छ । ‘तुइनले सबैलाई तार्छ…तुइनलाई कसले हो तार्ने’ बोलको गीतमा कृति नेपाली, दीपा महर्जन, रानीसोभा महर्जनको आवाज रहेको छ भने शब्द तथा संगीत सुरेश अधिकारीको छ । गीतमा तुइनमा खोला वारपार गर्नुको दर्दनाक कथालाई देखाइएको छ ।
धादिङ तथा गोरखा जिल्लाका वासिन्दाले अहिले पनि नदी वारपार गर्न तुइन प्रयोग गर्नुपर्दाको यथार्थ पीडालाई चलचित्र ‘तुइन’ मा उतारिएको निर्देशक उत्सव थपलियाले जानकारी दिए । केहि बर्ष पहिले स्कुल पढ्न जाँदै गर्दा त्रिशुली नदीमा प्रयोग गरिएको तुइन चुडिएर धेरै वालवालिकाले ज्यान गुमाउन पुग्दा समेत बाँच्न सफल किशोर सुरेश थापालाई प्रमुख पात्र बनाएर चलचित्र ‘तुइन’ तयार गरिएको निर्देशक थपलियाले बताए । अन्य कलाकारमा पृषा श्रेष्ठ, परिच्छित विक्रम राणा, विशाल डोटेल, श्याम खड्ला र चिराग थपलिया लिड अभिनयमा छन् ।
यो चलचित्र सृजना उप्रेतीले निर्माण गरेकी हुन् । चलचित्रको परिकल्पना अञ्जना वस्नेतको हो ।