सलमान खान एउटा यस्तो नाम हो जुन फिल्मी जगतमा मात्रै होइन ‘सेलिब्रेटी सोसाइटी’ मा समेत क्रेजी नाम बन्न सफल भएको छ । आज उनै बलीउडका सुपरस्टार सलमान खानको ५१ औं जन्मदिन हो । २७ दिसम्बर १९६५ मा जन्मिएका सलमानले आफ्नो फिल्मी करियर सन १९८८ मा चलचित्र ‘बीवी हो तो ऐसी’ बाट सुरु गरेका थिए । सलमानलाई पहिलो ठूलो व्यावसायिक सफलता भने १९८९ मा रिलिज भएको ‘मैंने प्यार किया’ बाट मिल्यो, जसबाट उनले फिल्मफेयर सर्वश्रेष्ठ नवीन पुरूष अभिनेता पुरस्कार हात पारे । त्यसपछि त उनले आफ्नो करियर पछाडी फर्किएर कहिले हेर्नु नै परेन । अहिले उनको स्टारडमको बलीउडमा मात्रै होइन हलिउडमा समेत उत्तिकै चर्चा हुने गर्दछ । त्यसो त उनका प्रशंसक र फ्यानहरु बिश्वभर बढ्दो छ । उनलाई पछ्याउने कलाकार र फ्यानहरु थुप्रै छन् जसका कारण पनि सलमान चर्चाको चुचुरोमा पुग्न सफल भएका हुन् ।
सुपरस्टार सलमान खानको क्रेज त्यसै बढेका भने पक्कै होइनन । उनको ब्रान्डीङ्का पछाडि उनले गरेका विभिन्न क्रियाकलाप र उनको जीवन संघर्षले ठूलो भूमिका निभाएको छ । बाहिरबाट नियाल्दा उनको जुन व्यक्तित्व छ, उनको भित्रि रहस्य पनि त्यतिकै गर्बलायक छ । रिललाइफमा मात्रै होइन रियल लाइफमा पनि उनको संघर्ष र योगदान उतिक्कै प्रशंसनीय छ । तर कतिपय उनका भित्रि पाटोहरु भने अझै पनि सार्वजनिक भएका छैनन् । जति सार्वजनिक भएका छन् त्यो पनि धेरैलाई थाहा छैन । आज उनको ५१ औं जन्मदिनको अवसरमा हामीले उनको जीवनका केही भित्री पाटो खोतल्ने प्रयास गरेका छौ ।
पढ्नुस् सुपरस्टार सलमानका बारेमा गोप्य रहस्य बनेका यी तथ्यहरु :-
सलमान खानको जिन्दगी एक खुल्ला पुस्तक हो । त्यही पनि यस्ता केही पानाहरु छन् जुन धेरै थोरै पटक पल्टाइएका छन् । सलमान खानको पुरा नाम अब्दुल रशिद सलिम सलमान खान हो । पौडिनमा धेरै सौखिन छन् उनी । स्कुल जिबनमा ‘स्विमिंङ् च्याम्पियन’ पनि बनेका थिए उनी । पेन्टिङमा पनि राम्रो कला छ उनमा । त्यसो त ‘जय हो’ फिल्मको पोस्टर पनि उनी आफैले बनाएका थिए। सलमानले अभिनयको तालिम डेजी इरानीको इन्स्टिच्युटबाट लिएका हुन् । उनीसंगै साजिद खान र चंकी पाण्डेले पनि तालिम लिएका थिए ।
सलमान खानलाई नायक बन्ने चाहना थिएन । उनलाई निर्देशक बन्ने खुबै रहर थियो। तर निर्माताको सल्लाहमा उनी अभिनय क्षेत्रमा आएका हुन्। लेखनको पनि उनलाई उत्तिकै शौख रहेको छ। फिल्म ‘वीर’ र ‘चन्द्रमुखी’ सलमानले नै लेखेका हुन् । सन २००४ मा युएसएको पिपुल म्यागेजिनमा सलमानलाई ‘बेस्ट लुकिंग म्यान इन दी वर्ल्ड’ को सुचीमा सातौ र भारतबाट पहिलो स्थान मिल्यो । त्यस्तै सलमानलाई साइक्लिङको पनि उस्तै शौख छ । मुम्बईको सडकमा साइकल चलाउने सलमान यो बानीले स्वास्थ्य राम्रो बनाउने ठान्दछन ।
हिमेश रेशामिया, साजिद वाजिद, संजय लीला भंसाली, जैकलीन फर्नाडीज, सोनाक्षी सिन्हा जस्ता स्टारलाई बलिउडमा सलमान खानले नै भित्र्याएका हुन् । त्यस्तै खानका धेरै नजिक र राम्रा साथी हुन् संजय दत्त । उनीमाथि एउटा गहन मुद्धा लाग्यो ‘हिट एण्ड रन’ । यस्तो अपराध गर्नेमा सलमान पहिला व्यक्ति भने होइनन । राजकुमारका छोरा पुरु राजकुमारले रक्सिको नशामा आफ्नो कार ८ जना माथि कुदाएका थिए । तर उनी मात्र १ लाख ६० हजार रुपैयाँ जरिवाना तिरेर रिहा भए ।ट्वीटरमा सलमान खानका ४२ करोड फ्यान छन, त्यस्तै ३३ करोड करोड ४१ लाख बढी फेसबुक ‘लाइक’ छन । उनको १० फिल्मले लगातार १ सय करोड रुपैयाँ बढी कमाइ गरेको छ । त्यस्तै सलमानले ६ सय भन्दा बढी बच्चाहरुको हर्ट सर्जरी गराइदिएका छन भने ४ सय बढी कैदीका लागि जरिवाना तिरेर उनीहरुलाई ६३ जेलबाट रिहा गराएका छन । फिल्म उद्योगमा सलमान एक्लै यस्ता अभिनेता हुन् जसको लगातार १० फिल्म (दबंग, रेडी, बडीगार्ड, एक था टाइगर, दबंग-२, वान्टेड, बजरंगी भाईजान, किक, सुल्तान, प्रेम रतन धन पायो) ले १०० करोड भन्दा बढी कमाइ गरेको छ ।
सलमानले ‘बीइंग हुमन’ नामक एक गैरसरकारी संस्था चलाएका छन् जसले बच्चा र गरिबलाई सहयोग गर्दछ । पछिल्लो समय सलमानले युवाहरुलाई रोजगार दिनका लागि एक वेबसाइट पनि संचालन गरेका छन् । उनको प्रोडक्सन हाउसको कमाइ पनि एनजीओलाई नै जान्छ । सलमानले यही प्रोडक्सन हाउसले ‘चिल्लर पार्टी’ जस्तो सामाजिक सरोकार राख्ने फिल्म बनाएका थिए । सलमान खान आजबाट ५१ औं बर्षमा लागेपनि उनी हालसम्म भने अविवाहित नै छन् । बेला बखतमा विभिन्न यूवतीहरुसँग उनको नाम जोडिने गरेपनि उनी अझै केही बर्ष विवाह नगर्ने तयारीमा रहेको बताइएको छ । उनको अर्को बर्ष अर्थात २०१७ को ईदमा ‘ट्यूब लाइट’ नामक चलचित्र प्रदर्शनमा आउँदैछ ।