आज शुक्रबारबाट एकसाथ तीन नेपाली चलचित्रले आफ्नो प्रदर्शन आरम्भ गरेका छन् । चलचित्र ‘समर्पण’, ‘चक्र’ र ‘यू टर्न’ ले आजबाट देशव्यापी प्रदर्शन आरम्भ गरेका हुन् । विना प्रचार उत्रिएका दुई चलचित्र ‘चक्र’ र ‘यू टर्न’ सँग एकसाथ प्रदर्शन आरम्भ गरेको चलचित्र ‘समर्पण’ ले भने प्रचार प्रसारलाई आक्रामक बनाउन देशदौडाहा समेत निस्किएको थियो । यस कारण पनि सिंगल हलहरुमा अन्य दुई चलचित्रको भन्दा समर्पणले बढी हल पाएको छ । बंगलादेश र नेपालका रमणीय स्थानहरुमा खिचिएको चलचित्र समर्पणमा रोजन रखाल, रन्जु शर्मा, रुवी शर्मा, अमृत शाही ठकुरी, प्रयास तामाङ, विश्वास तामाङ, आशा भुसाल, अनु पराजुली, दीपक थापा, कुमार श्रेष्ठ, बालकृष्ण बन्झरा र ज्योति काफ्लेको अभिनय छ । फायर इन्टरप्राइजेज एण्ड मिडिया प्रालिको व्यानरमा निर्माण भएको यो चलचित्रलाई बसन्त निरौलाले निर्देशन गरेका हुन ।
त्यस्तै यो चलचित्रसँग एकसाथ प्रदर्शन आरम्भ गरेको अर्को चलचित्र यू टर्नमा भने प्रेम लामा, इतिशा नेम्बाङको मुख्य भूमिका रहेको छ । त्यस्तै अर्को चलचित्र चक्रमा रोशन श्रेष्ठ, सञ्जय महर्जन, श्रृजना थापा लगायतका कलाकारहरुले अभिनय गरेका छन् ।
यी तीन नेपाली चलचित्र सिंगल हल लक्षित भएका कारण मल्टिप्लेक्समा भने गएको शुक्रबार प्रदर्शनमा आएको बलीउडस्टार आमिर खान अभिनित चलचित्र ‘दंगल’ ले नै राज गरिरहेको छ । प्रदर्शनको एक हप्तामा झण्डै ५ करोड ग्रस कलेक्सन गरिसकेको दंगलले यो हप्ता पनि नेपालका मल्टिप्लेक्सहरु राम्रै कब्जा गर्ने पक्का छ । दंगलसँगै नेपाली चलचित्र ‘जात्रा’ ले पनि भोलीबाट ५१ औं दिनमा आफ्नो प्रदर्शन आरम्भ गर्दैछ । अहिले यो चलचित्र सर्लाहीको हरिवन सिनेमा हलसँगै काठमाडौंको गुण सिनेमा, सिभिल क्यूएफएक्समा प्रदर्शन भइरहेको छ ।