आजबाट २०१६ ले विदा माग्दैछ । २०१६ मा धेरै बलीउड चलचित्रहरु प्रदर्शनमा आए तर कमै चलचित्रले मात्र आफ्नो लगानी सुरक्षित गरेका छन् । चल्तिका कलाकारहरुमा पनि २०१६ कसैलाई राम्रो भयो त कसैलाई खासै राम्रो भएन् । बलीउडका कलाकार मध्ये आलिया भट्ट र सुशान्त सिंह राजपुतले भने सन् २०१६ मा राम्रो अभिनयको कारणले सबैको मन जितेका छन् ।
उनीहरुले राम्रो फिल्म छानेर अभिनय गरेकाले मात्रै सबैलाई आश्चर्यमा पारेका होइनन् बरु आफ्नो भुमिकालाई स्वभाविक देखाउन गरेको मेहनत र स्वभाविक अभिनयको कारणले सबैको रोजाइमा परेका हुन् ।
यी दुईका अलावा आफ्नो भुमिकालाई राम्रोसँग न्याय दिने अन्य कलाकारहरुमा मनोज बाजपेयी, नवाजुद्दिन सिद्धिकी र रणदिप हुद्दा रहेका छन् । सुशान्तले क्रिकेटर महेन्द्र सिंह धोनीको जिवनीमा आधारित फिल्म ‘एमएस धोनी द अनटोल्ड स्टोरी’ मा धोनीको भुमिका निर्वाह गरेका थिए । यो भुमिका धेरै नै चुनौतीपूर्ण थियो तर सुशान्तले धेरै नै मेहनत गरेर सहजतापूर्वक निर्वाह गरेका छन् । यसैगरी नायिकाहरुमा आलिया भट्टले ‘कपूर एण्ड सन्स’, ‘उड्ता पन्जाब’ र ‘डियर जिन्दगी’ लगाएतका फिल्ममा निर्वाह गरेको भुमिकाबाट सबैको प्रशंसा पाइरहेकी छन् ।