ध्रुवराज न्यौपाने, दाङ ।
वरिष्ट हाँस्य कलाकार हरिवंश आचार्यले नेपाली चलचित्रको कथावस्तु नै राम्रो नभएका कारण फिल्महरु दिनानुदिन फ्लप बन्दै गएको बताएका छन् । चलचित्र पत्रकार संघ दाङ शाखाले मंगलवार तुलसीपुरमा गरेको साक्षात्कार कार्यक्रममा आचार्यले नेपाली चलचित्रले खासै राम्रो व्यापार गर्न नसक्नुको प्रमुख कारण नै फिल्मको स्कृप्ट रहेको उल्लेख गरे ।
दिनप्रतिदिन थुप्रै फिल्महरु निमार्ण हुने तर प्राय जसो सबै फिल्मको कथा उस्तै उस्तै खालको भएका कारण फिल्महरु चल्न छाडेको उनको भनाई थियो । राम्रो देखिने खालका अनुहारहरु लाई मात्र फिल्ममा हिरो हिरोइनको रुपमा देखाएमा मात्रै फिल्म चल्ने भन्ने मानसिकताबाट टाढा रहि फिल्म बनाउदा पहिला कथामा नै विशेष ध्यान दिए फिल्म उत्कृष्ट दिन सकिने भन्दै निर्माता निर्देशकलाई विशेष गरी कथामा नै जोड दिन आचार्यले सुझाए ।
चलचित्र पत्रकार संघ दाङका अध्यक्ष ध्रुवराज न्यौपानेको अध्यक्षता मा भएको साक्षात्कार कार्यक्रममा आचार्यले नेपाली बजारबाट भारतीय चलचित्रका कारण थुप्रै रकम बाहिरीएको भन्दै अव त्यसलाई रोक्न नेपालमा नै त्यस्तै खालका सिनेमाहरु बनाउनुपर्नेमा जोड दिए ।
आफ्नो पालामा खासै प्रविधि को विकास नभएपनि त्यसबेलाका दर्शकलाई आफुहरुले भरपुर मनोरञ्जन प्रदान गर्न सफल भएको स्मरण गर्दै उनले आजभोली झनै प्रविधिको प्रचुर विकास भएकाले मिहेनतका साथ काम गरी नेपाल र नेपाली इज्जतका लागि राम्रो सिनेमा बनाउन फिल्म मेकरलाई आग्रह गरे ।
आफ्नो पछिल्लो समयमा बजारमा आएको हरिबहादुर पुस्तक यात्राका क्रममा दाङ आउनुभएका आचार्यले आफु वियोगमा परेपछि आफ्ना भावनाहरुलाई पुस्तकका पानामा उतारेको बताए । कार्यक्रममा दाङका साहित्यकार वसन्त विवश आचार्य, रिपोर्टर्स क्लव दाङका अध्यक्ष शरद रेग्मीले हरिबहादुर पुस्तकको सफलताको कामना गरेका थिए । कार्यक्रममा स्वागत मन्तव्य संघका सदस्य दिपक कुमाल ले गरेका थिए भने सहजिकरण सचिव सन्तोष केसीले गरेका थिए ।