मुम्बई(एजेन्सी) । बलिउड अभिनेता टाइगर श्राफले बलिउडमा आफ्नो अलग्गै पहिचान स्थापित गरेका छन् । आफ्ना हरेक व्यवहार पिता ज्याकी श्राफसँग मिल्न गरेको आलोचना हुन थालेपछि उनले आफ्नो काम गर्ने शैलीलाई नै फेर्न थालेका छन् । आलोचकको भनाईलाई मध्यनजर राख्दै टाइगरले पिता ज्याकीसँग कुनै पनि फिल्ममा काम नगर्ने निर्णय गरेका छन् ।
हरेक बुवाको चाहना आफ्नो छोरा पनि आफूसँगै फिल्ममा काम गरोस् भन्ने हुन्छ । अमिताभ बच्चन र अभिषेक बच्चनले पनि धेरै फिल्ममा सँगै काम गरे । तर टाइगर भने बाबुसँग काम गर्ने मामलामा अलग सोचका छन् ।
‘सायद अब दर्शकले हामी बाबुछोरालाई सँगै फिल्ममा काम गरेको देख्न पाउनुहुन्न । मेरो बुवा ठूलो सुपरस्टार हुनुहुन्छ, म उहाँको अगाडि केही पनि होइन्,’ उनले भनेका छन्, ‘म बुवासँग धेरै गफ गर्न पनि पाउँदिन । मैले त भर्खरै यात्रा शुरु गरेको छु । त्यसकारण अहिले नै बुवासँग फिल्ममा काम गर्ने सोच्नु मेरा लागि बेला भएको छैन । हामी दुवैको फिल्मको रोजाई पनि एक जस्तो छैन । अभिनय तरिका पनि एकै किसिमको छैन ।’