असोज ११ गतेदेखि प्रदर्शनमा आउन लागेको यस वर्षको प्रतिक्षित फिल्म ‘छक्का पञ्जा २’को जम्बो टोली यतिबेला मोफसल प्रचार प्रसारमा व्यस्त छ। ‘एक्सप्रेस कमेडी टुर’को नाम दिएर हिडेको यो जम्बो टोलीमा निर्देशक दिपाश्री निरौला, निर्माता तथा अभिनेता दिपकराज गिरी, नायिका प्रियंका कार्की, बर्षा राउत, कलाकारहरु जितु नेपाल, केदार घिमिरे माग्ने बुढा, स्वरुप पुरुष ढकाल छन्।
मोफसलका विभिन्न शहरमा कार्यक्रम गरेर फिल्मको प्रचार गर्ने क्रममा शनिवार फिल्म युनिट हेटौडामा पुगेको थियो। जहाँ दिपकराज, दिपाश्री, प्रियंका, जितु, केदार, बर्षा र स्वरुपले दर्शकलाई भरपुर मनोरञ्जन दिलाए। दिपक र प्रियंकाले ‘झ्याम्म झ्याम्म’मा ठुम्का लगाउँदा जितु र केदारले कमेडी मार्फत दर्शकलाई रमाईलो गराए। यस्तै बर्षा र पुरुषले नाइलनको साडीमा नाचे भने निर्देशक निरौलाले फिल्मबारे जानकारी दिइन्।