अभिनेता नाजिर हुसेन हिट फिल्मका लागि छटपटाइरहेका छन् । अन्य हिरोहरुसँग मिसिएर उनले काम गरेको फिल्म हिट भएपनि नाजिर सोलो हिटमा असफल छन् । पौष २१ गतेबाट देशभरका हलमा एकसाथ रिलिज हुने फिल्म ‘राज्जा रानी’ चलेको खण्डमा उनलाई ठूलो राहत मिल्नेछ । यो फिल्ममा नाजिर सोलो हिरो हुन् ।
नाजिरका लागि मात्र होइन, अभिनेत्री केकी अधिकारी पनि हिट फिल्मको खोजीमा करिअरको सुरुवात देखि नै छिन् । उनका लागि पनि यो फिल्म चल्न जरुरी छ । केकी अधिकारी आफू हिट भएपनि फिल्म भने हिट दिन नसकेकी अभिनेत्री हुन् । उनी यो फिल्ममा सोलो अभिनेत्रीको रुपमा छिन् । यो फिल्म चलेको खण्डमा केकीलाई जस्तो राहत अरु कसैलाई पनि मिल्दैन ।
निर्माता रमेश एमके पौडेले पनि निरन्तर फिल्म बनाएर डुबिरहेका छन् । ‘नाइन ओ क्लक, रुद्रप्रिया’मा उनी चिप्लिए । अब, यो फिल्मबाट उनलाई १ करोड भन्दा बढी बजेट उठाउनु छ । यो फिल्मले लगानी मात्र उठाएको खण्डमा पनि नयाँ फिल्म बनाउने योजना उनको छ ।
यम थापा यो फिल्मबाट निर्देशनमा फिल्म नगरिमा डेब्यू गर्दैछन् । यमका लागि यो फिल्म चल्नु अत्यन्त जरुरी छ । नेपालगञ्जको कथालाई कमेडी जनरामा उठान गरिएको फिल्मलाई लिएर अहिले सबैजना उत्साहित छन् ।