जेठ १८ गतेबाट रिलिज हुन लागेको फिल्म ‘भैरे’को दोश्रो गीत सार्वजनिक भएको छ । अभिनेता दयाहाङ राई र अभिनेत्री सुरक्षा पन्तलाई फिचरिङ गरिएको गीत सार्वजनिक गरिएको हो । फिल्मको ‘सान्नानीलाई भेट्न आउँदा’ बोलको गीत चर्चामा छ ।
फिल्मका निर्देशक समेत रहेका एभरेष्ट सूर्य बोहराको शब्द रहेको गीतमा यम बरालको संगीत, यम र अन्जु पन्तको स्वर छ । भिडियोको कोरियोग्राफी गरेका बसन्त श्रेष्ठले पहिरनमा विशेष ध्यान दिएका छन् ।
राजधानीमा आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै अभिनेता दयाले आफूलाई नाच्न भनेपछि ज्वरो आउने भन्दै यसमा आफै देखिनुपर्ने भएकाले मिहिनेत गरेको बताए । यो गीतमा आफूले दयाको भन्दा धेरै टेक खाएको सुरक्षाले बताइन् ।
दयासँग नाच्न पाएपछि आफू फुरुङ्ग भएर नर्भस भएको उनले बताइन् । एभरेष्ट सूर्य बोहराको लेखन तथा निर्देशनमा बनेको यो फिल्ममा प्रेम प्रसाद पौडेल र देविमाया अधिकारीको लगानी छ । फिल्ममा बर्षा सिवाकोटी, वुद्धि तामाङ, सुनिल थापा लगायतका कलाकार पनि छन् ।